२०८१ माघ, १ मंगलबार

माघ २ गते दार्चुलामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइने 

मघ २ गते दार्चुला जिल्लामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । बिहिबार जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीको अध्यक्षतामा बसको बैठकले भूकम्प सम्बन्धि जनचेतना जगाउनको लागि विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाउने निर्णय गरेको हो । 
भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने नाराका साथ भूकम्प दिवस मनाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । 
बैठकले जिल्लाका सबै स्थानिय तहहरुलाई आ–आफ्नो क्षेत्र भित्र रहेका विद्यालयहरुमा भूकम्प सुरक्षाका विषयमा कक्षा सञ्चालन र कृत्रिम घटना अभ्यास गर्ने व्यवस्था मिलाउन पत्राचार गर्ने निर्णय गरेको छ । 
माघ २ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिका पदाधिकारी सहित जिल्लामा रहेका सुरक्षा अधिकारी, सरकारी कार्यालयका कर्मचारी, गैरसरकारी निकाय, पत्रकार, राजनीतिक दलका नेता, विद्यार्थीहरु र सर्वसाधारणको उपस्थितिमा दिवसको आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । 
विहान १०ः३० बजे  भूकम्पबाट बच्ने उपाय सहितका जनचेतना मूलक सन्देश लेखिएका व्यानर तथा प्लेकार्डहरु बोक्दै बजार परिक्रमा गरि खुल्ला मञ्चमा कार्यक्रमको आयोजना हुने छ । कार्यक्रमको व्यवस्थापनको लागि महाकाली नगरपालिकालाई अनुरोध गरिएको छ । 
कार्यक्रमको आयोजना तथा व्यवस्थापन गर्ने जिल्ला समन्वय समितिका समन्वय अधिकारी गणेश बहादुर पाल संयोजक रहेको उपसमिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक, सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेडक्वाटरका सशस्त्र प्रहरी निरिक्षक, शिक्षा विकास तथा समन्वय ईकाइ दार्चुलाका प्रतिनीधि, जिल्ला प्रशासन कार्यालय दार्चुलाको विपत व्यवस्थापन शाखाका प्रतिनीधि सदस्य रहेका छन् । 
भूकम्पबाट हुने क्षतीबाट बच्नको लागि जिल्लामा रहेको एफ. एम. रेडियोहरुबाट सन्देश मुलक सुचना प्रसारण गर्ने, भूकम्प लगायत प्रकोपजन्य विपतका घटनाबाट हुने जनधनको क्षतिलाई न्युनीकरण गर्न आवश्यक उपाय समेटी पूर्व तयार तथा प्रतिकार्य अवलम्बन गर्ने गैर सरकारी निकायसंग सम्नवय गर्ने निर्णय भएको छ । 
बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख, सुरक्षा अधिकारी, सरकारी तथा गैर सरकारी निकायका प्रमुख, पत्रकारहरुको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार पौष २५, २०८१/Thursday 01-09-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै