२०८१ बैशाख, १७ सोमबार

माघभित्रै बझाङमा फोरजी सञ्चालन

टेलिफोनको नेटवर्कले समेत राम्रो काम गर्ने अवस्था नरहेको बझाङमा आगामी माघदेखि नेटवर्कको समस्या टर्ने भएको छ । नेपाल टेलिकमले जिल्लाभर माघभित्र फोरजी⁄एलर्टी इन्टरनेट सेवा सञ्चालनमा ल्याउने दाबी गरेको छ ।

नेपाल टेलिकमले जिल्लाभर सञ्चालनमा रहेका र सञ्चालन हुने प्रक्रियामा रहेका २१ टावरबाट फोरजी/एलर्टी इन्टरनेट सेवा सञ्चालनमा ल्याउने जनाएको छ । टेलिकमका अनुसार सुरुमा बढी जनसंख्या भएका क्षेत्र सदरमुकाम चैनपुर, मष्टाको बडाकोट, बित्थडिरको देउलेख, बैतडी र बझाङको सीमामा रहेको जजल्लालगायतमा फोरजी सेवा सुचारु हुनेछ ।

लगत्तै अन्य रिपिटर टावरहरूमा पनि सेवा सञ्चालन हुने सुदूरपश्चिमका पहाडी जिल्ला हेर्दै आएको डडेल्धुरास्थित नेपाल टेलिकम कार्यालयका इन्जिनियर पुष्प सुनारले बताए । बझाङबाहेक अन्य जिल्लामा फोरजी⁄एलर्टी सञ्चालन आइसकेको छ ।

सुदूरपश्चिमका तराईका जिल्लाबाट पहाडी जिल्लाका लागि अहिले अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको तर बझाङमा ढिलो भएको इन्जिनियर सुनारको भनाइ छ । निकट भविष्यमै बझाङ सदरमुकाममा पनि अप्टिकल फाइबर पुग्ने र इन्टरनेटको गति बढ्ने उनले बताए ।

अहिले रिपिटर टावरमार्फत एक डाँडाबाट अर्को डाँडासम्म गर्दै जाँदा इन्टरनेटको गति कम भएको सुनारले जनाए । यस्तै, नेपाल टेलिकमले जिल्लामा सोलारबाट सञ्चालित टावरहरूमा देखिँदै आएको समस्या पनि समाधान गर्ने जनाएको छ । विद्युत् प्राधिकरणसँग समन्वय गरेर टावरमा विद्युत्काे समस्या समाधान गरिने इन्जिनियर सुनारले जनाए ।

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै