२०८१ जेठ, ३ बिहीबार

‘तनक्खा’माथि आँखा तन्काउँदा

२०६५ सालको मदन पुरस्कारसमेत विभिन्न पुस्कार प्राप्त गरिसकेका स्थापित नियात्राकार युवराज नयाँघरेको १६औँ कृतिको रूपमा ‘तनक्खा’ सार्वजनिक भएको छ ।

रत्न पुस्तक भण्डार प्रकाशक रहेको यस पुस्तकमा नयाँघरेका २१ शीर्षकका नियात्रा समाविष्ट छन् । सबै निबन्धमा म्यानमारका विभिन्न स्थानको भ्रमणको शब्द–चित्र छ ।

पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ‘नेपाली साहित्यमा यात्रा लेखनको निकै ठूलो महत्त्व र प्रभाव रहेकोे छ । यात्रा साहित्यले समाजका सबै पक्षलाई नियाल्ने काम गर्छ । लेखकको अन्तःस्करणदेखिको विचारले बाह्यसँगै सूक्ष्म तत्त्वसँग एकाकार हुन्छ । त्यो एकाकारले भूगोल र त्योसँग गाँसिएका पक्षहरूको व्यापक, अर्थपूर्ण र मूल्यवान् वर्णन हुन पुग्छ ।’

निश्चय नै नियात्राको गुण भनेकै यही हो ।

लेखकको सन्दर्भमा प्रकाशकीयमा उल्लेख छ, ‘युवराज नयाँघरे नेपाली साहित्यमा नियात्रा र निबन्ध लेखनमा मानक हुन् । आफ्नो मौलिक लेखनी र प्रस्तुतिमार्फत् बलियो र अर्थपूर्ण अनुहार बनाइसकेका नयाँघरेको अभिव्यक्तिमा अत्यन्तै चखिलो, कसिलो र रसिलो चिन्तनको परिपाक भेटिन्छ ।’

‘नेपाली गाउँघरसँगै विश्व समाजलाई पर्गेल्ने उनको लेखकीय पौरखको परख गर्ने पाठकीय संसार निकै ठूलो र फराकिलो छ । नयाँघरे पाठकद्वारा निकै खोजिएका, तारिफ गरिएका र रुचाइएका नियात्राकार हुन्’ भन्ने पनि प्रकाशकीयमा उल्लेख छ ।

माथि भनिएझैँ ‘तनक्खा’ नयाँघरेको ‘बर्मा’ अर्थात् ‘म्यान्मार’ यात्राका अनुभूतिको प्रस्तुति हो । यस नियात्रामा बर्मेली नेपाली समाजको जीवन, संस्कृति, धर्म तथा इतिहास आदिलाई यथासक्य समेट्ने प्रयास गरिएको पाइन्छ ।

नेपाल र म्यानमारबीचको साइनो अर्थात् नेपालीहरू कसरी म्यानमार पुगे र तिनको सामाजिक, आर्थिक अवस्था के कस्तो थियो र छ भन्ने कुरासमेत यसमा समेटिएको छ ।

नियात्रामा लेखकले म्यानमारको नेपाली समाजका पत्रपत्र उप्काउने प्रयास गरेका छन् । म्यानमारमा नेपालीको भूमिका र योगदान पहिल्याउनुका साथै विभिन्न स्थानमा रहेका नेपाली र तिनको जीवनशैलीका बारेमा विस्तृत एवम् जस्ताको तस्तै जानकारी दिने प्रयास गरेका छन् । उनको प्रस्तुति शैलीले निबन्धलाई चित्रमय बनाइदिएको छ ।

म्यानमारका सडक, वनजंगल, प्राकृतिक दृश्य, खोला, नदी, बजार, विहार, चैत्य, स्तुपा, मन्दिर, विद्यालय आदिदेखि गोठ र खेतबारीलाई समेत लेखकले आफ्ना निबन्धमा मिहीन ढंगमा समेटेका छन् ।

पुस्तकमा म्यान्मारमा रहेका नेपालीहरूको नेपालप्रतिको धारणा, नेपाल आफ्नो थलो हो भन्ने उनीहरूमा रहेको भावना जस्ता विषयलाई अत्यन्त सुन्दर र स्पष्ट ढंगमा प्रस्तुत गरिएको छ ।

नियात्राकार ठाउँठाउँमा अत्यन्त भावुक भएका छन् । खासगरी ‘बेनाम वीरता’ शीर्षकअन्तर्गत गोर्खालीहरूले प्राप्त गरेको सहादतलाई उनले अत्यन्त भावुक ढंगमा प्रस्तुत गरेका छन् ।

विदेशी भूमिमा युद्धको क्रममा मृत्युवरण गर्न पुगेका नेपालीका परिवारको भावनासँग जोडेर उनले यसलाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।

लेखक म्यानमारका प्राकृतिक दृश्यहरूबाट मोहित भएका छन् । नदीको प्रवाहसँग बेगिएका छन्, गाडीको गतिसँगै यहाँबाट वहाँ हुत्तिएका छन् । जहाँ पुग्यो, वहीँ नेपालीपन देखेर रमाएका छन् ।

पाएको स्वागत र गरिएको सत्कारमा हौसिएका छन् । नेपाली समाजसँग लोभिएका छन् । समग्रमा, लेखकले समयचाहिँ कति खेर जान नदिएर यात्राको भरपूर उपयोग गरेका छन्, समयको सक्दो फाइदा लिएका छन् ।

पुस्तकको नामको हकमा ‘तनक्खा’ मुहार उज्यालो पार्ने म्यान्माली समाजको एक प्रकारको वानस्पतिक लेप अर्थात् मौलिक शृङ्गार हो भन्ने कुरा प्रकाशकीयमा उल्लेख छ । निबन्धमा ठाउँठाउँमा यो लेप लगाएका युवती र महिलाहरू प्रशस्त भेटिन्छन् । पुस्तक पढ्दा आफू नै यात्रा गरिरहेजस्तो महसुस गराउन सक्नु नियात्राकारको सफलता हो ।

निबन्धको प्रस्तुति शैली स्वादिलो छ तर कतिपय शब्दलाई भाँचभुँच, टाँसटुँस र कोचकाच गरी आफ्नै ढंगमा प्रयोग गरेकाले कतैकतै कसोकसो अलिक असहज महसुस हुन्छ । समग्रमा पुस्तक पठनीय छ ।

 

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै