Close This
२०८१ मङ्सिर, ६ बिहीबार

‘जीवाश्म’को उत्खनन

शीतल गिरीको ‘जीवाश्म’ (२०७६) आद्योपान्त पढेर सकेपछि यसबारे केही लेख्नुपर्छ भनेर उत्सुकता जागृत भयो । यसको साहित्यिक गुणवत्ताले भन्दा पनि विषयवस्तुका विविध कथ्यमा अन्तर्निहित मूल्यवत्ताले मेरो अन्तस्करण प्रभावित हुन पुगेको हुनाले यो जाँगर चलेको हो ।

आदर्श होस् कि यथार्थ वा अतियथार्थ, कला मूलतः कल्पनाको प्रकटन हो । इतिहासमा सपाट बयान हुन्छ तर कलामा रूपान्तरण गर्नुपर्दा त्यही इतिहासले कल्पनाको अपेक्षा गरेको हुन्छ । जुनसुकै कलामा सत्यतथ्यको उद्घाटन गर्दा कल्पनाको सहयोगी भूमिका रहन्छ । ‘जीवाश्म’लाई निबन्धसङ्ग्रह भनिएको छ । यसअन्तर्गत पच्चीस थान निबन्धात्मक लेखहरू समाविष्ट छन् ।

यीमध्ये केही सामान्य लेख जस्ता प्रतीत हुन्छन् भने केही कथा जस्ता लाग्दछन् र केही निबन्धकै स्वरूपमा देखिन्छन् । यस कृतिभित्र ‘जीवाश्म’ नामको कुनै पनि निबन्ध रहेको छैन, न त जीवाश्मको कहीँ कतै प्रसङ्ग नै छ । तर, प्रतीकात्मक अर्थका दृष्टिले यो नामकरण युक्तिसङ्गत दृष्टिगत हुन्छ । यी लेखहरूमा केही सत्यतथ्य, केही तर्क, केही अनुमान र केही कल्पनाको मिश्रण छ ।

पुराण, प्राक् इतिहास, किंवदन्ती, लोकगाथा, धर्म–संस्कृति, इतिहास, परम्परित रूपमा चल्दै आएका राजनीतिक, सांस्कृतिक तथा सामाजिक मूल्य र मान्यताजन्य विषयका प्रतिबिम्ब यसअन्तर्गतका निबन्धहरूमा अन्तर्वस्तुका रूपमा प्रयुक्त छन् । विशेषतः यी सबै नेपालसँग सम्बद्ध विषयमा केन्द्रित छन् । अचर्चित र चर्चित विषयअन्तर्गतका खोज अनुसन्धान नभएका वा हुन नसकेका पुरातन विषयहरूको उत्खनन गरिएको छ यसअन्तर्गतका अधिकांश लेखहरूमा ।

 

लेखकले लोप हुने अवस्थामा पुगेका कतिपय संस्कृति र परम्पराका प्रसङ्गहरूको पनि सायासपूर्ण ढङ्गले खोजी गरी गम्भीरतापूर्वक चर्चा गरेका छन् ।

‘भेडापाल’बाट आरम्भ हुन्छ, ‘जीवाश्म ।’ सुरुमा कथा जस्तो लाग्छ भेडापाल । विस्तारै प्राक् इतिहासमा बदलिन्छ तर निबन्ध होइन, कथाकै कल्पना जस्तो भएर । यस निबन्धमा विक्रमाब्द आरम्भ हुनुभन्दा ५ हजार वर्षपूर्व काठमाडौं उपत्यकामा भेडापाल जाति रहेको तथ्य उद्घाटन गरिएको छ ।

त्यो समयमा नारी नेतृत्वप्रधान यो जाति आफ्नो जातिको रक्षा र भूभागको संरक्षणहेतु सचेत थियोे भन्ने कुरा पनि यसमा उजागर गरिएको छ ।

‘महिषपाल’ दोस्रो अनुक्रममा छ । सुरुमा महिषपाल पनि कथा जस्तै लाग्छ । पाक् इतिहासको अर्काे उत्खनन हो यो निबन्ध । यसमा सिन्ध प्रदेशको दानापुर र नेपालको काठमाडौं उपत्यका कार्यक्षेत्रका रूपमा रहेका छन् । महिषपाल शब्दले भैँसी पाल्ने जातिलाई बुझाउँछ । यसमा भने भैँसी पालकहरूको खास चर्चा छैन, उनीहरूको काठमाडौं उपत्यकामा प्रवेशको सङ्केत मात्र छ ।

बरु अन्तर्देशीय व्यापार र कृषिका विषय उठाइएका छन् । आर्य र दस्यूका कुरा छन्, देवासुर सङ्ग्रामको प्रसङ्ग छ ।

तेस्रो अनुक्रममा रहेको निबन्ध हो, ‘माछामार ।’ काठमाडौं उपत्यकामा महिषपालपछि प्रवेश गरेको जाति माछामार हो भन्ने लेखकको मान्यता छ । सुरुमा माछामार पनि कथा जस्तै लाग्छ । विक्रम संवत्पूर्व ४५६० ताका यमुना नदीको तट मत्स्यपुरबाट माछामार जाति नेपाल उपत्यकामा आएकोे कुरा यसमा उल्लेख छ । त्यसको प्रमाणका रूपमा मत्स्यगाउँ अवशेष रहेको लेखकको तर्क छ ।

‘गोपाल’ चौथो अनुक्रममा रहेको निबन्ध हो । यसमा वर्णनात्मक र संवाद शैली अवलम्बन गरिएको छ । गोपाल वंशावलीका अनुसार नेपाल उपत्यकाको पहिलोे वासिन्दा गोपाल वंश हो भन्ने परम्परित मान्यताप्रति लेखकले असहमति जनाएका छन् ।

गोपाल वंशपूर्व नै यहाँ भेडापाल, महिषपाल, माछामार जस्ता जातिहरूको अस्तित्व थियो भन्ने तार्किक धारणा छ लेखकको । यसमा प्राचीन नेपालको इतिहासले औँल्याएको गोपाल वंश परिष्कृत (वैदिक) आर्य नभएको कुरालाई उठाइएको छ ।

लिङ्गपूजाविरोधी भएकाले यस वंशको सरदारले शिवलिङ्ग उखेलेर फाल्न लागेको देखेपछि लिङ्गपुजकहरूले उसलाई मारेको र अल्पसङ्ख्यामा रहेका गोपालहरूले लिङ्ग पुज्ने सर्तमा सम्झौता गरेको तथा लिङ्गपुजकहरूसँग निकट सम्बन्ध कायम राख्न आफ्ना छोरी विवाह गरेर उनीहरूका छोरालाई दिएको रोचक प्रसङ्ग पनि यहाँ भेटिन्छ ।

‘तथागतको आगमन’ पाँचौँ अनुक्रममा रहेको निबन्ध हो । सौन्दर्य वर्णनको मनोहर शैलीमा लेखिएको यस निबन्धमा उपत्यकामा किरातको नेतृत्व रहेको र जितेदास्ती गणपति रहेको समयमा गौतम बुद्ध नागार्जुनको डाँडामा आएको रोचक प्रसङ्ग छ । यहाँ ‘तथागत’ शब्दले बुद्धलाई बुझाएको छ तापनि यसको व्युत्पत्ति वा प्रयोगको सन्दर्भ भने खुलाइएको छैन ।

छैटौँ अनुक्रममा रहेको ‘धर्मयात्रा’ शीर्षकको निबन्ध मगध सम्राट अशोक कलिङ्गयुद्धमा विजयी भएपछि उनको युद्धपिपासालाई अकस्मात् तथागतको सच्चा प्रेमले जितेको र उनी छोरी चारुमतीलाई समेत साथमा लिएर लस्करसहित बुद्धको जन्मभूमि लुम्बिनीमा मायादेवीको मन्दिर निर्माण गर्ने र त्यहीँ नै स्तम्भ राख्ने उद्देश्यले धर्मयात्रामा निस्केको इतिहास प्रसिद्ध कथामा आधारित छ ।

‘अशोक वाटिका’ यस कृतिमा सातौँ अनुक्रममा रहेको छ । यसमा अशोक वाटिकाको र नगर बधू सितालीको रूपलावण्य र शृङ्गारको मनमोहक वर्णन छ ।

मूलतः यस निबन्धमा अशोक वाटिकाको वर्णनलाई भन्दा पनि तत्कालीन पाटलीपुत्रका सम्राट चन्द्रगुप्त मौर्यको समयमा त्यहाँ ऊनबाट बनेका नेपाली सामानको व्यापार हुने गरेको, कौटिल्यले नेपालका राडीपाखीको प्रशंसा गरेको तथा दरबारमा पनि नेपाली सामानप्रति आकर्षण र विश्वास रहेको विषयलाई महत्वका साथ चर्चा गरिएको छ ।

आठौँ अनुक्रममा रहेको निबन्ध हो ‘विक्रम र संवत् ।’ प्रश्नात्मक शैलीमा आरम्भ भएको यस निबन्ध केही तथ्य र केही तर्कसहित नवीन खोजमा आधारित छ ।

ई.पू. ५७ मा तत्कालीन नेपालकै गणपति (राजा) विक्रमादित्यको नामबाट विक्रम संवत्को आरम्भ भएको हो, उज्जयिनी राजा विक्रमादित्यको नामसँग यसलाई जोड्नु गलत हो भन्ने कुरालाई किंवदन्ती र इतिहासका केही बलिया साक्ष्यसहित अनुसन्धानमूलक ढङ्गले प्रस्तुत गरिएको यस निबन्धमा लेखकले विक्रम संवत् नेपालको मौलिक संवत् भएको पुष्टि गर्न चाहेका छन् ।

नवौँ अनुक्रममा रहेको ‘पुनर्जन्मा र प्रतिभा’ नामक निबन्ध पुराण र इतिहासको मिश्रित कथा जस्तो लाग्दछ । यसमा शाकल्य, याज्ञवल्क्य, पुनर्जन्मा, गार्गी, जनक, विरूपाक्ष, जितेदास्ती, बुद्ध, वाणासुर जस्ता पात्रहरू प्रसङ्गअनुसार आएका छन् । याज्ञवल्क्यसँगको शास्त्रास्त्रमा छलकपटद्वारा हत्या गरिएका स्वाभिमानी दार्शनिक शाकल्यको प्रशंसा र याज्ञवल्क्यको निन्दा गरिएको यस निबन्धमा पुनर्जन्माका बारेमा विशेष चर्चा गरिएको छ ।

‘आभीर’ यस कृतिको दशौँ अनुक्रममा रहेको छ । यसमा काठमाडौं उपत्यकाको प्राचीनता यसमा वर्णित छ । विक्रमपूर्व करिब ४६०० वर्षमा आएको प्रलयकारी महाभूकम्पका कारण वागमती नदीको चोभारको निकाशद्वार थुनिएकाले उपत्यका जलमग्न भएको र गोपालहरूले वाणसुरको बध गरी चोभारको डाँडो काटेर उपत्यकालाई जलमुक्त पारेको प्रसङ्गसहित नेवार जातिको उत्पत्ति तथा उपत्यकामा आभीर जातिको आगमन र यसको नालीबेली खोतल्ने काम लेखकले यस निबन्धमा गरेका छन् । आभीरको अपभ्रंश नै अहिर हो तर यसको प्रत्यक्ष सम्बन्ध यादवहरूसँग छैन भन्ने लेखकको जिकिर छ ।

‘मातृभक्त मानदेव’ एघारौँ अनुक्रममा रहेको निबन्ध हो । इतिहासको विषयलाई कथा जस्तै बनाएर प्रस्तुत गरिएको यस निबन्धमा मूलतः राजा मानदेवलाई केन्द्रीय चरित्रका रूपमा चयन गरिएको छ ।

मानदेव बालकै हुँदा पिता धर्मदेवको मृत्यु भएको र उनले सती जान चाहेकी माता राज्यवतीलाई रोकीे आफूलाई राज्य सञ्चालनमा सहयोग गर्न अनुरोध गरेको प्रसङ्गसहित सुरु भएको छ यो निबन्ध ।

मातृ आज्ञाअनुसार अगाडि बढेर मानदेवले शत्रुहरूमाथि विजय प्राप्त गर्दै नेपालको सिमाना पूर्वमा कामरूप, पश्चिममा कुर्माञ्चल, दक्षिणमा भागीरथी र उत्तरमा हिमालयपारिसम्म पु¥याएका थिए भन्ने जानकारी गराइएको यस निबन्धमा मानदेवले नै चाँगुनारायण मन्दिरको पुनर्निर्माण गराएको, मानाङ्क नामक मुद्रा प्रचलनमा ल्याएको लगायत तथ्यलाई पनि उजागर गरिएको छ ।

‘उज्ज्वल र जाज्ज्वल्यमान भृकुटी’ बाह्रौँ अनुक्रममा रहेको निबन्ध हो । यो वर्णनात्मक र खोजमूलक ढङ्गले लेखिएको छ । यसमा तत्कालीन नेपालको इतिहासका केही विवादास्पद विषयलाई उठाइएको पनि छ ।

भृकुटीलाई अंशुवर्माकी छोरी भनिए तापनि उनी उदयदेवकी छोरी थिइन् र सत्ताच्युत भएपछि छ वर्षकी छोरी भृकुटीलाई पनि साथमा लिएर उदयदेव शरण लिन तिब्बत गएका थिए भन्ने प्रसङ्ग यहाँ रहेको छ ।

भृकुटीको विवाह उदयदेवले स्वार्थवस त्यहाँका राजा स्रोङ चङ गम्पोसँग गरिदिएपछि तिब्बतसँग नेपालको सम्बन्ध बनेको र त्यसपछि उनका छोरा नरेन्द्रदेवले त्यहाँबाट राजकीय सहयोग पाउन थालेको प्रसङ्ग पनि यसमा भेटिन्छ ।

तिब्बतमा बौद्धधर्मको प्रचार प्रसार र विस्तारमा भृकुटीको महत्वपूर्ण देन रहेको, त्यहाँ हरिततारा नामले प्रख्याति पाएकी भृकुटीप्रति नेपालको इतिहासमा न्याय दिन नसकेको कुरालाई लेखकले उठाएका छन् ।

तेह्रौँ अनुक्रममा रहेको निबन्ध हो, ‘कवि बुद्धकीर्तिको सत्य ।’ खोजमूलक यस निबन्धमा लेखकले पशुपतिनाथको मन्दिरनजिकै दक्षिणपश्चिम कुनामा रहेको एउटा ठूलो शिलाखण्डमा कुँदिएको र संवत् १५७ कार्तिक शुक्ल नवमी तिथि उल्लेख भएको ३५ श्लोकको कवितालाई आधार बनाई यसका रचनाकारको समेत गहनतापूर्वक अध्ययन गरी विवेचन गरेका छन् । लेखकका अनुसार यो कविता तत्कालीन लिच्छवि राजा जयदेव द्वितीय र उनका दरबारिया कवि बुद्धकीर्तिको संयुक्त रचना हो ।

यसअन्तर्गतका ५ श्लोक मात्र राजाका हुन्, अन्य ३० श्लोकका रचनाकार कवि बुद्धकीर्ति हुन् । लेखकले यस कविताका आधारमा बुद्धकीर्तिलाई प्राचीन नेपालका अद्भुत प्रतिभा भएका कविका रूपमा उच्च प्रशंसा गर्दै उनका बारेमा शोध, अनुसन्धानका लागि आग्रहसमेत गरेका छन् ।

‘सिंह, पुर र पाल’ यस कृतिअन्तर्गत चौधौँ अनुक्रममा रहेको निबन्ध हो । यसमा सुदूरपश्चिममा प्रचलित लोकगाथालाई विषय बनाइएको छ । केही दन्त्यकथा, केही किंवदन्ती र केही इतिहासको मिश्रण जस्तो लाग्ने यो गाथा कौतूहलपूर्ण र रोचक खालको छ ।

यसमा स्वतन्त्र र शक्तिशाली राज्य सिंहपुरको चर्चा छ । त्यहाँका राजा सिंहपाल, रानी प्रभावती र राजकुमारी रजनी तथा राजकुमारीको नृत्यमा कैफियत पत्ता लगाउने सङ्गीतप्रवीण आगन्तुक युवकलगायतका पात्रहरू छन् ।

कृतिमा पन्ध्रौँ अनुक्रममा रहेको निबन्ध हो, ‘अरनिको र आदर्श ।’ अरनिको नै यस निबन्धका केन्द्रीय चरित्र हुन् । उनको बाल्यकाल, कलाकारी क्षमता, तिब्बतबाट आएका भिक्षु भद्रबाहुसँग भेट, भद्रबाहु अरनिकोको कलाबाट प्रभावित, उनका कलाका केही नमुना लिएर भद्रबाहु तिब्बत प्रस्थान र पुनः आगमन, अरनिकोसहित कलाकारको टोली लिएर पुनः तिब्बत र चीनका लागि प्रस्थान, अरनिकोबाट तिग्रीको पुरानो चैत्यको मर्मत, उनी साक्या चैत्यमा पुगेको, त्यहाँ एउटी युवतीसँग उनको विवाह भएको, अरनिकोद्वारा धर्मगुरु वास्पको अद्भुत चित्र निर्माण, उनको चित्रकारिताको व्यापक प्रशंसा, अरनिकोसँग चित्रकारिता सिक्न आएकी एउटी धनाढ्य युवती उनीसँग मोहित भएर विवाह भएको उल्लेख छ ।

यसरी नै साक्या चैत्यसँगै स्वर्ण चैत्य निर्माण, चीनका बादशाह कुब्ला खाँबाट बोलावट, अरनिका बादशाहसामु हाजिर, उनलाई परीक्षणका रूपमा दरबारमा रहेको एउटा थोत्रो र बिग्रेको मूर्ति मर्मतका लागि आग्रह, अरनिकोबाट सहर्ष स्वीकार, उनले मूर्तिको मर्मत सुन्दर ढङ्गले गरेपछि बादशाह र सभासद्हरूमा उनीप्रति विश्वास, यसपछि श्वेत चैत्य निर्माणका लागि जिम्मेवारी दिइएको, श्वेत चैत्य निर्माणपश्चात् उनलाई प्रधान मन्त्रीसरहको सम्मान र सुविधा प्रदान जस्ता मूलभूत प्रसङ्गका साथै अन्य विविध रोचक प्रसङ्गहरू पनि जोडिएका छन् ।

‘रुद्र सिंहको मुक्ति’ सोह्र्रौँ अनुक्रममा रहेको छ । यसमा सिन्जा र कुमाउ कार्यपीठिकाका रूपमा रहेका छन् । सिन्जाका राजा क्राचल्लले राज्यविस्तारका क्रममा कुमाउमाथि आक्रमण गरी त्यहाँका राजा रुद्र सिंहलाई बन्दी बनाएर राजसिंहासनमा बसेपछि उनको यश दिग्दिगन्तसम्म फैलिएको प्रसङ्गबाट यो निबन्ध आरम्भ भएको छ भने कुमाउ राज्यका मन्त्रीहरूको अनुरोध सुनेपछि दयाका सागर राजा क्राचल्लले रुद्र सिंहलाई मुक्त गरी सभामा उपस्थित गराएको तथा केही सर्तसहित करद राजाका रूपमा हिन्दू विधिअनुसार राज्याभिषेक गराएर आफ्नो सेनासहित सिन्जा फर्केको वर्णन छ ।

‘देउसी–भैलो, बलिराज र इतिहास’ सत्रौँ अनुक्रममा रहेको निबन्ध हो । यसमा जुम्ला राज्यको मध्यकालीन इतिहासको उत्खनन गरिएको छ । खासगरी नेपाली संस्कृतिमा तिहारको अवसरमा ‘हामी त्यसै आएका होइनौँ, बलि राजाले पठाएको’ भनेर खेलिने देउसी–भैलोको आरम्भ कसरी भएको हो भन्ने प्रश्नको उत्तर खोज्ने सन्दर्भमा यो निबन्ध सङ्केन्द्रित छ ।

दान गर्नमा नाम कहलिएका पौराणिक राजा बलिको सम्बन्ध यससँग नरहेको उल्लेख गर्दै लेखकले राज्य विस्तारका लागि अर्थ सङ्कलन गर्न तत्कालीन जुम्लाका राजा बलिराजले यस्तो अभियान चलाएको तर्क प्रस्तुत गरेका छन् ।

अठारौँ अनुक्रममा रहेको निबन्ध हो, ‘राजदेवी र नर्मदा ।’ राजनीतिसँग जोडिएको निबन्ध भए पनि यसको विषय कटरवनकी राजदेवी र नृत्यङ्गना नर्मदामा केन्द्रित छ । यसमा कटर वनमा राजा हरिहर सेनले शक्तिपीठका रूपमा राजदेवीको मन्दिर बनाई त्यहाँ पुजेरी र गुठीको व्यवस्था गरेको एउटा प्रसङ्ग छ ।

राजा प्रताप मल्लको समयमा मकवानपुर राज्यसँग राम्रो सम्बन्ध रहेको अवस्थामा शैव नृत्यमा पारङ्गत नर्मदालाई सेन दरबारमा पठाइएको र उसलाई फिर्ता पठाउन राजा प्रताप मल्लले गरेको पटक पटकको आग्रहलाई नटेरी नृत्यका पारखी राजा हरिहर सेनले आफ्नै दरबारमा भित्रिनी बनाएर राखेको, यसपछि दुई राज्यका बीच सम्बन्ध अवरुद्ध भएको अर्को प्रसङ्ग पनि जोडिएको छ ।

‘टिस्टुङ कोट’ यस कृतिअन्तर्गत उन्नाइसौँ अनुक्रममा रहेको निबन्ध हो । मनोवाद शैलीमा आरम्भ भएको संवाद शैलीबाट तथ्य खोजिएको यस निबन्धमा मकवानपुर जिल्लाको उत्तरमा रहेको टिस्टुङ बज्रवाराहीको कोटलाई विषयका रूपमा चयन गरिएको छ ।

स्वप्नमय रोचक ढङ्गको प्रस्तुति रहेको यस निबन्धमा पृथ्वीनारायण शाह, सत्तल सिंह, राजा जयस्थिति मल्ल, मकवानपुरका राजा दिग्बन्धन सेन आदिसँग जोडिएका विविध प्रसङ्ग छन् भने टिस्टुङको नेवारे राजा (नाम उल्लेख नभएको)को कथामा आधारित बाह्र वर्षे नाचसम्बन्धी विशेष चर्चा रहेको छ ।

‘लाचार महारानी’ बीसौँ अनुक्रममा रहेको छ । यसमा रानी राजराजेश्वरीको प्रशंसासहित उच्च मूल्याङ्कन गरिएको छ भने मुख्तियार भीमसेन थापामाथि आरोप लगाइएको छ ।

रणबहादुर शाहको हत्यापछि मुख्तियार भीमसेन थापाले आफूलाई बलियो बनाउने नियतले ललित त्रिपुरा सुन्दरीलाई सती जानबाट रोकेर हेलम्बूबाट पतिको किरिया गर्न आएकी राजराजेश्वरीलाई सती जान बाध्य तुल्याइएको अप्रिय घटना यसमा वर्णित छ ।

एक्काइसौँ अनुक्रममा रहेको निबन्ध हो, ‘जोसमनी सम्प्रदाय र लखन थापा ।’ यसमा लखन थापालाई केन्द्रीय चरित्रका रूपमा उपस्थापन गरिएको छ । उनको बाल्यकाल, स्वभाव, सैनिक जीवनमा प्रवेश, जोसमनी सम्प्रदायसँग दीक्षित भएको, जङ्गबहादुरले सत्ता आफ्नो हातमा लिएपछि निर्माण गरिएको विरोधी सङ्गठन र सक्रियता आदिको चर्चासहित अन्ततः टीकादत्त भुसाल जैसीले पोल लगाएका कारण विरोधीहरूलाई बर्बर यातना दिनुका साथै लखन थापा र जयसिंह चुमिरानालगायत अन्र्य झुन्ड्याएर मारेको तर कानु लम्साल र ज्ञान दिलदासलाई बाहुन भएकाले मृत्युदण्ड नदिइएको कुरा यसमा वर्णित छ ।

बाइसौँ अनुक्रममा रहेको निबन्ध हो, ‘विवाह र व्यक्तित्व ।’ यो महाभारतको कथामा पुगेर खोजी गरिएको मिथकका रूपमा लेखिएको छ । रक्ष संस्कृतिसँग राक्षसहरूलाई जोडिएको यस निबन्धमा पञ्च पाण्डवमध्येका भीमसेन र राक्षस कुलकी युवती हिडिम्बाको प्रणय र विवाहको रोचक प्रसङ्ग छ ।

यसमा भुटनदेवीलाई राक्षसहरूकी कुलदेवी भनिएको छ र महाभारतको युद्धमा जीवन उत्सर्ग गरेका भए पनि घटोत्कच र बर्बरिकको पृथक् अध्याय बन्न नसकेकामा लेखकको असन्तुष्टि देखिन्छ । यसभित्र किंवदन्तीका विविध प्रसङ्ग आएका छन् ।

कृतिअन्तर्गत तेइसौँ अनुक्रममा रहेको निबन्ध हो, ‘साहित्य र शहीद ।’ यसका केन्द्रीय चरित्र ‘मकैको खेती’ नामक कृतिका लेखक कृष्णलाल अधिकारी हुन् ।

अधिकारीको जीवनका विविध पाटासहित मकैको खेती लेख्नुको पृष्ठभूमि र यसको गलत व्याख्या गरी उनलाई राणा शासनविरोधी घोषित गरेर जेलमा हालिएको, त्यहाँ उनलाई एक छाक मकै मात्र खान दिने गरेकोले पोषण तत्वको कमीले गर्दा क्षयरोगबाट जेलभित्रै उनको मृत्यु भएको मार्मिक प्रसङ्गसहित पोल लगाउने प्रवृत्ति, चन्द्रशमशेरको निर्दयी स्वभाव जस्ता कुरा यस निबन्धमा समेटिएका छन् ।

चौबीसौँ अनुक्रममा रहेको निबन्ध हो, ‘योगमाया र जलसमाधि ।’ राणाविरोधी अभियानमा लागेर अन्त्यमा जलसमाधि लिएकी योगमायालाई केन्द्रीय चरित्र बनाइएको छ यसमा । यिनकै गीतिकविताका तीन पङ्क्तिपुञ्जबाट आरम्भ गरिएको छ यो निबन्ध ।

योगमायाको बालवैधव्य, कँडेल थरका युवकसँग विवाह गरी भारतको असम प्रस्थान, कँडेलको मृत्यु, पुनः डोटेल थरका जैसीसँग विवाह र छोरीको जन्म उल्लेख छ ।

यसरी नै पुराण लगाएको ठाउँमा कथा सुनेपछि अकस्मात् मानसिकतामा परिवर्तन र वैराग्यबोध, स्वर्गद्वारी प्रस्थान, महाप्रभुको प्रभावले जोसमनी सम्प्रदायमा आबद्धता र सक्रियता, अध्यात्मिक तहबाट समाजसुधारमा समर्पण र निरङ्कुश राणाशासनविरोधी अभियानमा समेत प्रतिबद्ध, जेलचलान र तीन महिनापछि मुक्त जस्ता यिनको जीवनका विविध आयाम र घटनाको यसमा वर्णन गरिएको छ ।

यिनले राणाशासनका विरुद्ध अग्निसमाधि (आत्मदाह)का लागि यज्ञको आयोजना गरेकी तर सरकारी सेनाले हस्तक्षेप गरेपछि यज्ञस्थलबाट भागेर अरुण नदीमा पसी यिनी र अरू ६८ जना चेलाचेलीहरूले जलसमाधि लिएको प्रसङ्ग यसमा समाहित छ ।

‘मृत्युको वरदान’ अन्तिम अर्थात् पच्चीसौँ अनुक्रममा रहेको निबन्ध हो । यसमा प्रमुख चरित्रका रूपमा शहीद गङ्गालाललाई चयन गरिएको छ र उनीप्रति लेखकको गहिरो श्रद्धाभाव प्रकट भएको छ ।

संवाद शैलीमा आरम्भ गरिएको कथा जस्तो लाग्ने यस निबन्धमा मुख्य विषयवस्तुका रूपमा १९९७ माघमा राणाशासकहरूबाट गङ्गालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्दहरूलाई गरिएको अति क्रूर र निर्मम हत्याका घटनालाई लिइएको छ ।

यसमा पनि राणा शासनविरोधी अभियानमा खासगरी शहीद गङ्गालालमा अन्तर्निहित अदम्य साहसको उच्च मूल्याङ्कन गरिएको छ ।

निबन्धसङ्ग्रहका रूपमा आएको ‘जीवाश्म’ नामक प्रस्तुत कृतिमा साहित्यिक मूल्यवत्ताभन्दा पनि ज्यादा खोजअनुसन्धानको सबलता दृष्टिगोचर हुन्छ ।

यद्यपि, लेखन शैलीमा बेकनले भनेजस्तै कतैकतै विकीर्ण चिन्तन र मोन्तेनले भनेजस्तै कतैकतै आत्मिक अभिव्यञ्जनाले गर्दा यी लेखहरूमा नैबन्धिक स्वरूप पनि प्रतिविम्बित हुन्छ । यी निबन्धमा भाषागत सरलता छ तापनि कतैकतै अभिव्यक्तिगत अस्पष्टता पनि भेटिन्छ ।

कतिपय निबन्धमा किंवदन्तीजन्य मान्यताहरूको विनिर्माण गरिएको पाइन्छ । मूलतः नेपालको भूमिसँग कुनै न कुनै रूपले जोडिएका पुराकथा, लोकगाथा, किंवदन्ती, प्राक् इतिहास, पुराततत्व, धर्मसंस्कृति, राजनीति र अधुनातन इतिहासकै पनि उजागर हुन बाँकी रहेका तथा कतिपय जनजिब्रोमा मात्रै जीवित रहेका विशेष तथ्यहरूको अध्ययनको उत्खननबाट भेटिएका केही नवीन जीवाश्महरू यसमा प्रदर्शित छन् ।

केही अनुमितिवादका आधारमा पुष्टि गर्न खोजिएका प्रसङ्गहरू पनि यसमा अन्तर्भूत छन् । समग्रतः यो कृति निबन्ध, कथा र सत्यतथ्यको खोजीमा सङ्केन्द्रित अनुसन्धानमूलक लेखहरूको मिश्रित समाहरण जस्तो प्रतीत हुन्छ ।

भाषिक शुद्धताका सन्दर्भमा केही वर्णविन्यासजन्य र केही वाक्यगत त्रुटिहरू अवश्य छन्, जुन सम्पादनका कमीकमजोरी हुन् भन्न सकिन्छ ।

पाएसम्मका तिथिमिति र स्रोतहरूको प्रयोग गरिएका हुनाले प्रायजसो यी निबन्ध तथ्यनिकट छन् भने केहीमा तर्कशास्त्र, केहीमा अनुमितिवाद र केहीमा कल्पनासिद्धान्त पनि लागू भएको छ । हाम्रो संस्कृति र परम्परा लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गरिएका प्रसङ्ग पनि यहाँ भेटिन्छन् ।

भाषाको साहित्यिक सौन्दर्य त्यति प्रभावकारी नभए पनि रहस्यको उद्घाटनका दृष्टिले यी खोजमूलक निबन्धहरू निकै संज्ञानात्मक र महत्वपूर्ण छन् । आकारगत दृष्टिले न अति लामा र न त अति छोटा, यी निबन्ध पढ्दा दिक्क नलाग्ने, बरु उत्सुकता जगाउने खालका छन् ।

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै