सात महिनासम्म पनि प्रधानमन्त्रीलाई भेट्न पाइनँ Sarathikhabar पूर्वमन्त्री लालबाबु पण्डित तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता समकालीन राजनीतिमा इमानदार नेताका रूपमा चिनिन्छन् । भर्खरै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बाहिरिएका पण्डित राजनीति जनताका लागि हुनुपर्ने दाबी गर्छन् । आर्थिक रूपमा पारदर्शिता कायम राख्न सकेका कारण आफूलाई सबैले मन पराएको उनको बुझाइ छ । पहिलोपटक सामान्य प्रशासनमन्त्री हुँदा पण्डित राष्ट्रसेवक कर्मचारीले डीभी र पीआर लिन नहुने भन्दै त्यस्ता कर्मचारीविरुद्ध कडा रूपमा प्रस्तुत भएका थिए । पछिल्लो समय संघीय मामिला तथा प्रशासनमन्त्रीको जिम्मेवारी सम्हालिरहँदा प्रधानन्त्रीले राम्रो परफर्मेन्स दिन नसकेको भन्दै उनलाई हटाएका थिए । उनै पण्डितसँग मन्त्रीको कार्यानुभव, काम गर्न नसक्नाको कारणलगायत विषयमा शिलापत्रकर्मी प्रदीप बस्नेतले कुरा गरेका छन् । प्रस्तुत छ, उनै पण्डितसँग गरिएको कुराकानीको सम्पादति अंशः भर्खरै मन्त्रीबाट निवर्तमान हुनुभएको छ, कसरी दिन बितिरहेको छ ? सामान्य रूपमा नै बितिरहेको छ । मन्त्री नरहे पनि जनताको प्रतिनिधि भएकाले राजनीतिक गतिविधिमै ब्यस्त छु । लालबाबु पण्डितप्रति आममान्छेमा एक तहको सम्मान र श्रद्धा छ । सार्वजनिक रूपमा भेटिँदा कस्तो प्रतिक्रिया आउँछ ? मेरो विगत ४० वर्षदेखिको राजनीतिक जीवनमा आफूलाई जनताभन्दा फरक हुँ भन्ने कहिल्यै ठानिनँ । जनताले प्रयोग गर्ने साधन नै मैलै प्रयोग गर्दै आएँ । समयअनुसार भूमिकामा रहँदा केही फरक भयो होला । नत्र आजको दिनसम्म म तल्लो तहको जनताभन्दा केही फरक छैन । पहिलो पटक सांसद हुँदा ६ महिनापछि मात्रै डेरा लिएको हुँ । काठमाडौंमा हुँदा धेरैजसो म पार्टी कार्यालयमै सुतें । दिनभर राजनीतिक काम, सुत्ने बेलामा पार्टी कार्यालयमा मेरो बास हुन्थ्यो । कहिलेकाहीँ कार्यकर्ताको घरमा पनि बसें । अहिले पनि विराटनगरमा मेरो सानो घर छ । काठमाडौंमा डेरा बस्न थालेको ४० वर्ष हुन थाल्यो । पहिलो पटक मन्त्री हुँदा डेरा राखेर गएको थिएँ । तर, यसपालि भने डेरा छोडेर मन्त्री क्वार्टर गएको हुँ । पूवमन्त्रीले डेरा पाएनन् । डेरा खोज्नै मुश्किल भयो भन्ने पनि आएको थियो । डेरा खोज्न साँच्चै समस्या भएको थियो तपाईंंलाई ? पहिलो पटक मन्त्री हुँदा डेरा थियो र समस्या भएन । यसपालि भने केही गाह्रो त भयो । पहिलो पटक डेरा नछोड्दा सामान सबै बिग्रिएको थियो । केही सामान मुसाले काटेर बिगारिदिएछ । यसपालि भने सामान सबै लगेर मन्त्री क्वार्टरको एउटा कोठमा थन्क्याएको थिएँ । मन्त्रीबाट हटेको खबर राति थाहा पाएँ । मन्त्रीबाट हटेपछि एकछिन पनि क्वार्टरमा बसौंजस्तो लागेन । र, राति १२ बजेदेखि नै डेरा खोज्न साथीहरूलाई भनें । केही साथीहरूले आफ्नै घरमा बसेर बिस्तारै डेरा खोज्दा पनि हुन्छ भनेर ढाडस पनि दिए । सार्वजनिक सावारीसाधन पाइने, पैदल हिँडेर भए पनि सिंहदरबार संसदभवन जान मिल्ने ठाउँ चाहिएको थियो । डेरा खोज्न हामीजस्तोलाई गाह्रो नै हुन्छ । भनेको जस्तो र घरबेटी पनि सहज चाहिने भएपछि डेरा खोज्न गाह्रो भइहाल्छ नि । अहिले बसिरहेको कोटेश्वरको डेरा तुलनात्मक रूपमा सहज छ । तपाईंं कुन सवारी साधन प्रयोग गर्नुहुन्छ ? म सँग कुनै साधन छैन । सार्वजनिक गाडी नै चढ्छु । आवश्यकताअनुसार ट्याक्सी, स्कुटर या मोटरसाइकलमा लिफ्ट माग्छु । निजी सचिवको मोटरसाइकल चढ्छु । सेक्युरिटी पनि मोटरसाइकलमा पछिपछि आउँछन् । तपाईंं दुईदुई पटक मन्त्री भएको मान्छे, सत्तारुढ दलको नेता, सांसद, मन्त्री भएर पनि काठमाडौंमा ससानो घरको व्यवस्था गर्न नसकिने हो ? नेताका लागि न्यूनतम आवश्यकता पनि हो नि ? इमानदार हुने हो भने जोहो गर्न नसकिने हो । बेइमानीको कुनै सीमा हुँदैन । मैलेचाहिँ अहिलेसम्म घरको जोहो गर्न सकिनँ । आवश्यकता महसुस हुन्छ ? ठूलै बंगला नभए पनि ससानो घर हुनु अन्यथा पनि त होइन नि ? आवश्यकता महसुस त हुन्छ । नहुँदाखेरीको पीडा, डेरा खोज्न जाँदा कतिपयले अपमान गरेका पीडा, घर हुनेसँग गरिने व्यवहार र नहुनेसँग गरिने व्यवहार फरक हुन्छ । तर, सबै कुरा कहाँ पूरा हुन्छ र ? कतिपयलाई यस्तो पनि हुँदो हो । राजनीति गर्नका निम्ति नैतिक मूल्यमान्यता, पारदर्शिता आदि कुराहरू आदर्शका रूपमा लिइन्छ । यी चिजको खडेरी परेको बेलामा तपाईंंजस्ता केही व्यक्तिहरूले मात्रै आफूलाई राष्ट्रिय राजनीतिमा कतिञ्जेल टिकाइराख्न सक्नुहोला ? यो कुरा बुझ्नेका निम्ति आदर्श पनि हो । घर हुने कतिपयले सामाजिक प्रतिष्ठा देखाउनका लागि भौतिक साधन आवश्यक पनि होला । तर, मलाई यी कुराले लोभ्याएन । साथीहरू पनि एउटा घर, एउटा गाडी त चाहिन्छ भन्नुहुन्छ । तर, म जनताभन्दा धेरै पर पुर्याउन चाहन्नँ । तपाईंंको पार्टीका अधिकांश नेताहरूको घर छ । एक पटक मन्त्री भइसकेपछि त घर गाडी त सामान्य नै देखिन्छ नि ? अपारदर्शी केही काम गर्नु हुँदैन । विलासिता र आवश्यकताको कुनै सीमा र गति हुँदैन । मन कहाँ कति दौडिन्छ, यसको कुनै सीमा हुँदैन । यथार्थ स्थितिबाट जहाँ पुग्न सकिन्छ, त्यहाँसम्मको यात्रा तय गर्नुपर्छ । निराशै निराशामा बाँच्ने, अविश्वासको खाडल बनाएर असीमित चाहनाहरूको चाङ लगाएर दौडिने हो भने दुःख पाइन्छ । क्षणिक उमङ्ग र लामो समय निराशामा बाँच्ने जीवन कस्तो होला ? हरेकका इच्छा, आकांक्षाहरू फरक छन् । हेर्ने र बुझ्ने क्षमता पनि फरकफरक छन् । जीवनलाई कसरी भोग्ने, कसरी चलाउने, त्यो तपाईंंको कुरा हो । अहिले खर्बौं मानिस विश्व मानव इतिहासमा छन् । प्रतिस्पर्धात्मक राजनीतिमा अब त पैसा नभई केही गर्न सकिँदैन नि ? एक जनाले निर्वाचन जित्नका लागि करोडौं खर्च गर्ने र पदमा पुगेपछि असुल गरेको देखिएको छ । राजनीतिमा देखिएको विसंगतिलाई के भन्नुहुन्छ नि ? न्यूनतम आर्थिक पक्ष हो । यो सहयोगी पक्ष मात्रै हो । मूल कुरा त व्यक्ति, विचार, जनताप्रतिको विश्वास आर्जनको कुरा हो । अयोध्याको फौजले रामले लंका जितेका होइनन् । बुद्ध दरबारमै बसेको बुद्धत्व प्राप्त हुन्नथ्यो । सबभन्दा धनी मान्छेले नै जनताको मन जित्छन् भन्ने त छैन । धनमार्फत जित्न खोज्ने क्षणिक भएर जान्छन् । नेपालको इतिहास हेर्नुस् । पैसाले नै हुने भए राणा शासन, राजतन्त्र ढल्थे होलान् र ? एक कालको नेता सर्वकालिक हुँदैन । समय र जनताको भावनालाई बुझ्न नसक्ने अल्पकालिक भएर गए । तपाईंंको कार्यानुभवको कुरा पनि गरौं । पहिलो कार्यकालमा पाएको प्रशंसा, चर्चा वा तपाईंप्रतिको विश्वास दोस्रो कार्यकालमा घट्यो । यस्तो किन भयो होला ? मैले नराम्रो केही गरेको छैन । पहिलो पनि त्यत्तिकै चुनौतीपूर्ण थियो । पहिलो मन्त्रित्वकालमा मलाई क्वार्टरमै सिध्याइदिन्छु भन्दै धम्की आउँथ्यो । डीभी, पीआरधारी कर्मचारी रोक्ने मेरो त्यो बेलाको कामलाई धेरैले रुचाए पनि मेरो विरोध गर्ने र मलाई सिध्याउने त्यति बेला पनि थिए । मैले राष्ट्रको पक्षमा जोखिम मोलेको हो । मैले अहिले गरेको कामलाई महत्त्व दिइएन । लामो समय केन्द्रीकृत रूपमा रहेको व्यवस्थालाई संघीय मोडलमा लैजाने जिम्मा पाएको मन्त्रालयमा मैले कसरी काम गरें हुँला ? तपाईंहरूले अनुमान गर्न सक्नु हुन्न । लोकतन्त्र र गणतन्त्रविरोधीहरूले मलाई असहयोग गरे । लोकतन्त्र गणतन्त्र समृद्धिको बाटोमा छ । तीन तहको संघीय प्रणालीमा मुलुक चलिरहेको छ । मेरो मन्त्रालयले संघीयता कार्यान्वयन गर्न पहिलो पटक काम सुरु गरेको हो । केन्द्रीकृत प्रणालीबाट संघीयतामा जान नचाहेको पक्ष, लामो समयदेखि केन्द्रीकृत शासन प्रणालीमा अभ्यस्त कर्मचारीतन्त्रको बीचमा काम गर्नु आफैंमा चुनौतीपूर्ण थियो । संविधानले तोकेअनुसार ऐन बनाएर कर्मचारी समायोजनको काम गर्नुपर्ने थियो । यो काम सहज र सरल थिएन तर मानिसहरूले यो देखेनन् । नेपाली समाजले अलि फण्डा र स्टन्ट रुचाउने भएर पनि होला, यसपालि तपाईंंको कार्यकाल त्यति चर्चामा आएन वा तपाईंले काम देखाउन सक्नु भएन । सुरुमा वातावरणमन्त्री हुँदा ठूला होटेललाई कारबाही गर्छु भन्नुभयो । पछि संघीय मामिलामन्त्री हुँदा पनि तपाईंंकै कर्मचारी उल्टै कारबाही गर्ने धम्की दिन्थे । वातावरणमन्त्री हुँदा मापदण्डविपरीतका होटललाई कारबाही सुरु गरेकै हुँ । तर, एक महिनामै मन्त्रालय परिवर्तन भयो । एक महिनाभित्र गरेको कुन कुरा गलत थियो त ? अर्को कुरा, संघीयता जटिल विषय हो । तपाईंले देख्नुभएको छ, संघीयताका कारण देश टुक्रिएको पनि छ । मूलभूत कुराहरू एक वर्षभित्र गरेको छु । सफ्टवेयरको विकास, ऐन, कर्मचारी समायोजन, संगठन संरचना र दरबन्दीका काम एक वर्षभित्रै सकेको हुँ । यो मेरो काम होइन र ? बेलाबेलामा मन्त्री फेर्ने हल्लाले पनि काम गर्न नसक्नु भाको हो कि ? १५ महिना अगाडिदेखि नै कहिले रेड जोन परेको भनेर आउँछ । कहिले ‘होइन, एलो जोनमा’ भनेर समाचार आउँछ । यसले गतिलाई कमजोेर बनाइहाल्छ नि । संसदीय प्रणालीमा जुन कुरा प्रधानमन्त्रीले चाहनु हुन्न, त्यो कुरा हुँदैन । मन्त्रीले गति लिँदैमा प्रधानमन्त्रीले रुचाउनु भएन भने मन्त्रीको केही चल्दैन । प्रधानमन्त्रीबाट तपाईंलाई सहयोग भएन, होइन ? प्रधानमन्त्री प्रणाली हो, जे गर्नुभयो, जस्तो गर्नुभयो उहाँलाई धन्यवाद छ । अब आउनेले गर्लान् नि । परिणाम त आउनुपर्यो नि । म मन्त्रीबाट हटिसकेपछि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रिय योजना आयोगमा प्रतिवेदन प्रस्तुत भएको छ । त्यो प्रतिवेदनमा सबैभन्दा बढी काम भएको मन्त्रालयमा दोस्रो नम्बरमा संघीय मामिला मन्त्रालय परेको छ । सबैभन्दा कम काम भएको मन्त्रालय पनि छ, तर तिनै मन्त्री अहिले सफल मन्त्री भए । प्रधानमन्त्रीले भनेपछि सही भयो । प्रधानमन्त्री र जनताको नजर फरक हो । प्रधानमन्त्रीले असफल देखे पनि जनताको नजरमा म सफल छु । उसो भए राम्रो गर्दागर्दै तपाईंलाई किन हटाइयो होला ? खै, अहिलेसम्म केही भन्नुभएको छैन । पहिले कार्यसम्पादनको कुरा गर्नुभएको थियो । यो पनि गलत सावित भइसक्यो । किनभने कार्यसम्पादनमा काम गर्ने मन्त्रालय र मन्त्री भनेर दुई नम्बरमा म छु । प्रधानमन्त्रीले के सोचेर गर्नुभयो, उहाँले जान्ने कुरा हो । मलाई केही भन्नु छैन । मन्त्री हुँदा आफूलाई हटाइने हल्ला चल्दा कस्तो हुँदोरहेछ ? प्रशासनिक रूपमा धेरै गाह्रो कुरा हो । व्यक्तिगत रूपमा मैले यस्ता धेरै सामना गरेको हुनाले मलाई केही भएन । मन्त्री फेरिने कुराले प्रशासनिक रूपमा कर्मचारीले कस्तो व्यवहार गर्छन् ? स्वाभाविक रूपमा कर्मचारी शक्तिका पूजक हुन्छन् । मन्त्री फेर्ने हल्लासँगै कर्मचारीको व्यवहार पनि फेरिन्थ्यो । प्रधानमन्त्रीले मन्त्री फेर्नेबारे तपाईंसँग केही कुरा गर्नुभएको थियो ? व्यक्तिगत केही कुुरा भएन । क्याबिनेटमा म भोलि केही मन्त्री चेन्ज गर्दैछु भन्नुभएको थियो । मन्त्रीबाट हटाइएको कसरी थाहा पाउनुभयो ? त्यो दिन साढे ११ बजे कलाकार केदार घिमिरेजीले मेरी छोरीलाई एसएमस गरेर जानकारी गराउनुभएको रहेछ । छोरीले मलाई भनिन् । त्यसलगत्तै मैले केदारजीलगायतलाई डेरा खोजिदिन आग्रह पनि गरें । मेरो तनाव देखेर दीपकराज गिरीले आफ्नो छोरीको घरमा एक महिना बसेर बिस्तारै कोठा खोज्दा हुन्छ भनेर खबर पनि पठाउनुभएको थियो । तपाईंलाई कुनै जानकारी थियो ? केही संकेत पाउनुभएको थियो कि तपाईं मन्त्रीबाट हटाइँदै हुनुहुन्छ भनेर ? मन्त्री हुने बेला पनि मलाई चासो थिएन । हटाउने बेला झन् कसरी थाहा होस् ? म आफ्नै काम गर्दै थिएँ । कसलाई राख्ने कसलाई फाल्ने भन्ने सबै प्रधानमन्त्रीको हातको कुरा हो । अनि त्यस्तो मन्त्रिमण्डमा जान किन यस्तो मरिहत्ते हुन्छ त ? जहाँ प्रधानमन्त्रीले नचाहँदा केही गर्न पनि पाइँदैन । कुन बेला पद जान्छ, थाहा पनि हुँदैन । काम गर्न पाइन्छ कि पाइँदैन, यो पनि थाहा हुँदैन । प्रधानमन्त्री नै सर्वेसर्वा हुने यो पद्धतिमा मन्त्रीको त खासै केही नचल्ने रहेछ त ? त्यो व्यक्तिमा भर पर्ने कुरा हो । मन्त्री हुन किन मरिहत्ते गर्छन् ? उनीहरूले भन्ने कुरा हो । मलाई त मन्त्री हुने विषयले खासै उत्साहित पनि बनाएन । प्रधानमन्त्रीसँग कत्तिको समन्वय भयो ? प्रधानमन्त्रीसँग मन्त्रीको भन्दा सचिवको समन्वय बढी हुन्छ । सचिवले भन्दा मन्त्रीले समन्वय गर्नुपर्ने हो । मैले प्रधानमन्त्रीलाई भेट्न सात महिनासम्म पनि समय पाइनँ । मन्त्रिपरिषद सदस्यले प्रधानमन्त्रीलाई भेट्न यति मुश्किल हुन्छ ? प्रधानमन्त्रीको सचिवालयको घेरा त्यति कडा हुन्छ ? त्यो त मलाई थाहा भएन । प्रधानमन्त्रीसँग सिधै पनि एप्रोच हुन्छ । कहिलेकाहीँ सचिवालयसँग पनि समय लिइन्छ । हुन्छ फोन गर्छौं भन्नुहन्छ तर फोन आउँदैन । प्रधानमन्त्रीलाई भेट्न सात महिना पर्खने भए पनि काम कसरी भइरहेको हुन्छ ? मन्त्रालयगत समन्वय कसरी हुन्छ ? प्रधानमन्त्रीले कसरी लिनुहुन्छ त्यसमा भर पर्छ । प्रधानमन्त्रीले कसलाई भेट्ने कसलाई नभेट्ने, को आवश्यक को अनावश्यक भन्ने कुरा उहाँ बुझ्नुहोला । मलाई भेट्न चाहनु भएन होला । आमरूपमा हेर्दा त मन्त्रीकै नचल्ने रहेछ । जनताले त काम भएन, मन्त्रीले गरेनन् भन्ने गरेको टिप्पणी गलत हो उसो भए ? कति चल्छ कति चल्दैन । कति ठाउँमा कानुनले छेक्छन्, कति ठाउँमा अदृश्य शक्तिले रोक्छन् । तपाईंले सात/सात महिनामसम्म भेट्न नपाउने, तपाईंको प्रगति रिपोर्ट केही नहेर्ने, तपाईंले काम गर्न खोज्दा रोक्न खोज्ने, अनि यस्तो अवस्थामा मन्त्री हुन जान हुन्छ त ? मन्त्री हुन चाहनेको लाइन सानो छ र ? कसैले म मन्त्री बन्दिनँ भनेको सुन्नुभएको छ ? प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै महाकाली नगरपालिकाका नगर प्रमुख चैसिर भन्छन् : ‘शिक्षा पहिलो प्राथमिकतामा’ ‘सुदूरपश्चिम उच्च जोखिममा छ, राष्ट्रिय संकट आउन सक्छ’ ‘म नायिका बन्दिनँ, हामीले अब हेर्ने चश्मा फेर्नुपर्छ’: अनुष्का श्रेष्ठ सरकार अलोकप्रिय भयो, त्यसैले हाम्रो जनमत बढ्यो योजना निर्माणमा केन्द्र सरकारको मानसिकता छुद्र छ पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा उकु महलको अवलोकन पछि कार्यालय प्रमुखको बैठक मृत्यु भएको २४ घण्टापछि गरियाे माना दमाइको दाहसंस्कार अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ खण्डेश्वरी जोड्ने सडक निर्माणको लागि ठेक्का आह्वान अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम