Close This
२०८१ मङ्सिर, ६ बिहीबार

कति शक्तिशाली छ इरान ?

इराक र अमेरिकाबीच तनाव बढेको छ । दुवै देश आपसमा लडाइँको कुरा गरिरहेका छन् । विश्व समुदाय यो कुरालाई लिएर चिन्तित पनि छ ।
आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले मारिदिएपछि इरानले त्यसको ‘बदला’ लिने बताइरहेको छ । इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खमेनईले बगदाद विमानस्थलमा भएको आक्रमणमा परी जनरल कासिम सुलेमानीको मृत्यु भएको खबर आएलगत्तै दोषीलाई नछाड्ने बताएको छ ।

उता अमेरिकाले पनि इरानले आक्रमण गरे ५२ क्षेत्र ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

इरानको तागत कति ?

बेलायतको थिंक ट्याङ्क इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रेटिजिक स्टडिजका अनुसार इरानमा करिब ५ लाख २३ हजार सक्रिय सैनिक छन् । यसमा इरानको सेना साढे ३ लाख र इस्लामिक रिभोल्युसनरी गार्ड्स (आईआरजीसी)का डेढ लाख सैन्यकर्मी सामेल छन् ।

यसबाहेक इरानसँग रिभोल्युसनरी गार्ड्सका २० हजार नौसैनिक पनि छन् । यो समूह होर्मुजको खाडीमा कैयौं सशस्त्र जहाजमा खटिएको छ । होर्मुजको खाडी त्यही ठाउँ हो, जहाँ गत वर्ष तेलको ट्याङ्कमाथि आक्रमण भएको थियो । एक स्वयंसेवी समूह बासिज पनि रिभोल्युसनरी गार्ड्सकै अंग हो । यो समूहले इरानमा विरोधका कैयौं स्वरहरू दबाउने काम गरेको छ । यो युनिट एक्लैले लाखौं सैनिकलाई एक ठाउँमा ल्याउन सक्छ ।
इस्लामिक रिभोल्युसनरी गार्ड्सको स्थापना आजभन्दा ४० वर्ष अगाडि भएको थियो । इरानमा इस्लामिक व्यवस्था बचाइ राख्नु यसको प्रमुख उद्देश्य थियो । ४० वर्षपछि आज रिभोल्युसनरी गार्ड्स आफैंमा एक प्रमुख सैन्य, राजनीतिक र आर्थिक शक्ति बनेको छ ।

इरानको आधिकारिक सेनाभन्दा कम सैनिक भए पनि यो समूहलाई इरानको सबैभन्दा शक्तिशाली संगठन मानिन्छ ।

इरानी सेनाले विदेशमा अपरेसन कसरी गर्छ ?

इरानको कुद्स फोर्स (जसको नेतृत्व जनरल सुलेमानीले गर्थे)ले रिभोल्युसनरी गार्ड्सका लागि विदेशमा गुप्त अपरेसन गरी इरानका सर्वोच्च धार्मिक नेता आयातोल्लाह अली खमेनईलाई रिपोर्ट गर्ने गर्दछ । यो कामका लागि कम्तीमा ५ हजार सैनिक सक्रिय रहेको बताइन्छ ।

सिरियामा समेत पुगिसकेको यो युनिटले त्यहाँ सिरियाली राष्ट्रपति बसर अल असदको सेनालाई सुझाव र सल्लाह प्रदान गर्थ्यो । यद्यपि अमेरिकाले कुद्स फोर्सलाई मध्य–पूर्वमा आतंकवादी गतिविधि गरेको भन्दै ‘आतंकवादी संगठन’ करार गरिदिएको छ, जसमा लेबनानको हिज्बुल्लाह र प्यालेस्टाइनको इस्लामी जिहाद पनि सामेल छ ।

आर्थिक प्रतिबन्धले इरानलाई हतियार आयातमा घाटा लागेको छ । मध्यपूर्वका देशहरूको तुलनामा इरानको हतियार हायात निकै कम भइसकेको छ । इरानको बढी आयात रूस र चीनबाट हुन्छ ।

के इरानसँग मिसाइल छन् ?

इरानसँग मिसाइलहरू छन्, जुन इरानको सैन्यशक्तिको प्रमुख हिस्सा हो । यद्यपि, एयर फोर्समा भने इरान साउदी अरब र इजरायलभन्दा अलि कमजोर नै छ । यो कमजोरीको भरपाई इरानको मिसाइलले गर्ने गरेको छ ।

अमेरिकाको रक्षा विभाग इरानको मिसाइल शक्ति मध्यपूर्वका देशहरूमा सबैभन्दा ज्यादा रहेको मान्छ । तर, इरानसँग छोटो र मध्यम दूरीका मिसाइल मात्रै छन् ।

इरान स्पेस टेक्नोलोजीको परीक्षण गरिरहेको छ, जसबाट उसलाई अझै धेरै शक्तिशाली मिसाइलहरू विकास गर्न मद्दत मिल्नेछ ।

यद्यपि, रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युट थिंकट्यांकका अनुसार इरानले आफ्नो लामो दूरीको मिसाइल परीक्षण स्न २०१५ को परमाणु सन्धिपछि रोक्नुपरेको थियो । सन्धिको अनिश्चितताका कारण इरानले फेरि त्यस्तो मिसाइल विकास गर्ने काम शुरू गरिसकेको इन्स्टिच्युटको दाबी छ ।

अहिले पनि इरानसँग छोटो र मध्यम दूरीका मिसाइलहरू छन् जसले साउदी अरब र खाडीमा अवस्थित कैयौं क्षेत्रलाई निशाना बनाउन सक्छन् । यी मिसाइलबाट इजरायलसमेत असुरक्षित रहेको बताइन्छ ।

गत वर्ष अमेरिकाले इरानसँग तनाव बढेपछि मध्यपूर्वमा एक एन्टी मिसाइलको व्यवस्था गरेको थियो । ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल र उच्च प्रविधियुक्त एयरक्राफ्ट्सको सामना गर्न यसलाई सक्षम मानिएको थियो ।

इरानको गैर–पारम्परिक हतियार

कैयौं वर्षको प्रतिबन्धका बावजुद इरान आफ्ना लागि ड्रोन विकास गर्न सफल छ । इरानले इराकमा इस्लामिक स्टेटविरुद्धको युद्धमा सन् २०१६ देखि नै आफ्नो ड्रोनको प्रयोग गर्दैै आएको छ ।

थिंकट्यांकको रिपोर्टका अनुसार इरान आफ्नो सशस्त्र ड्रोनका साथमा सिरियाको इजरायली एयर स्पेसमा समेत पुगिसकेको छ ।

जून २०१९ मा इरानले अमेरिकाको एक निगरानी ड्रोनलाई खसालिदिएको थियो । त्यतिबेला अमेरिकी ड्रोनले होर्मुजको खाडीमा इरानी वायुक्षेत्रको उल्लंघन गरेको दाबी इरानले गरेको थियो ।

२०१९ मै साउदीको तेल संयन्त्रमाथि ड्रोन र मिसाइलबाट आक्रमण भएको थियो । अमेरिका र साउदी अरब दुवैले यो आक्रमण इरानले गरेको आरोप लगाएका थिए । तर इरानले भने आरोप अस्वीकार गर्दै आक्रमणको पछाडि यमनका विद्रोहीको हात रहेको बताएको थियो ।

के इरानसँग साइबर शक्ति छ ?

सन् २०१० मा इरानको परमाणु संयन्त्रमाथि साइबर आक्रमण भएको थियो । यसपछि इरानले आफ्नो साइबर क्षमतामा उल्लेख्य सुधार गर्‍यो ।
अहिले रिभोल्युसनरी गार्डसँगै आफ्नो छुट्टै साइबर कमान्ड छ, जसले व्यावसायिक र सैन्य जासूसीजस्ता मामिलामा काम गर्छ ।

इरानले सन् २०१९ मा साइबर जासूसीका लागि एयरस्पेस, प्राकृतिक संसाधन, टेलिकम्युनिकेसन कम्पनीहरू र डिफेन्स कन्ट्रेक्टर्सलाई निशाना बनाएको अमेरिकी सेनाको एउटा रिपोर्टमा भनिएको थियो ।

२०१९ मै माइक्रोसफ्टले भनेको थियो कि ‘इरान र इरानी सरकारसँग ताल्लुक राख्ने’ एक ह्याकर समूहले अमेरिकामा राष्ट्रपति चुनावप्रचार अभियान र अमेरिकी अधिकारीहरूको अकाउन्ट गडबड गर्न खोजेको थियो ।

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै