२०८१ बैशाख, १७ सोमबार

सन् २०२० का सम्भावित केही विश्व घटना

सन् २०१९ को बिदाइपछि नयाँ वर्ष सन् २०२० आएसँगै यस वर्ष केही सम्भावित विश्व घटनाका बारेमा चर्चा सुरु भइसकेको छ । अघिल्लो वर्षमा सुरु भएका कतिपय घटना यस वर्ष टुंगो लाग्नुपर्ने अवस्थामा छन् भने कतिपय घटनाहरू यस वर्ष दिर्घकालीन महत्त्व र अन्तर्राष्ट्रिय चर्चामा समेत रहने देखिन्छ ।

यस वर्ष हुन सक्ने केही सम्भावित विश्वचर्चित घटनाक्रमहरूका बारेमा यहाँ छोटो चर्चा गरिएको छ:

ब्रेजिक्टको टुंगो लाग्ने

लामो समयदेखि चर्चा र विवादमा रहेको ब्रेजिक्ट यस वर्ष टुंगो लाग्ने भएको छ । हालै गठन भएको नयाँ सरकारले यही जनवरी ३१ मा बेलायतलाई इयूबाट अलग्याउने गृहकार्य गरिरहेको छ ।

बेलायत युरोपेली संघ (ईयू) बाट बाहिरिने या रहने भन्नेबारेमा विवाद र अन्याेल भइरहेका बेला गत वर्ष भएको निर्वाचनमा बाहिर निस्किने पक्षको दलले जनादेशसहितको बहुमत पाएपछि अहिलेको सरकार ब्रेजिक्टका लागि गृहकार्यमा जुटेको हो ।

तत्कालीन प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि अन्तरिम प्रधानमन्त्री हुदै नयाँ निर्वाचित प्रधानमन्त्री बनेका बोरिस जोनसनले आफ्नो कन्जरभेटिभ्स पार्टीका सबै सांसदबाट धोका नपाएमा ब्रेजिक्टको टुंगो लाग्ने देखिन्छ ।

ट्रम्पविरुद्धको महाभियोगको फैसला हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध तल्लो सदनबाट पारित भएको महाअभियोगको प्रस्तावमाथि माथिल्लो सदन सिनेटमा मतदान हुने भएको छ । सिनेटबाट पनि महाअभियोग प्रस्ताव पारित भएमा ट्रम्पको पद गुम्नेछ । सिनेटका १ सय सिटमध्ये हाल रिपब्लिकनका ५३ र डेमोक्र्याटका ४५ जना मात्र सदस्य छन् । अनि दुई जना स्वतन्त्र हैसियतका सिनेटर छन् ।

तर उनीमाथिको महाभियोगका लागि दुईतिहाई मत अर्थात् ६७ जना सिनेटर आवश्यक पर्दछ । त्यसैले महाअभियोग प्रस्ताव पारित हुने सम्भावना कम छ । तल्लो सदनमा भएको मतदानका क्रममा सबै सांसदले पार्टीको लाइनअनुसार नै मतदान गरेकाले माथिल्लो सदनमा पनि त्यस्तै भएमा ट्रम्प महाअभियोग लाग्नबाट बच्नेछन् ।

यसको अन्तिम किनारा लाग्नेगरी मतदान यही जनवरी महिनामा हुने अपेक्षा गरिए पनि तय भने भइसकेको छैन । तल्लो सदन हाउस अफ् रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको र कंग्रेसलाई अवरुद्ध गरेको भन्दै महाभियोगको पक्षमा मतदान गरेको हो ।

तल्लो सदनमा ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २ सय ३० र विपक्षमा १ सय ९७ मत खसेको थियो । यसरी महाअभियोग लगाउने प्रस्ताव गरिएका अमेरिकी राष्ट्रपतिहरूमध्ये उनी तेस्रो हुन् ।

अमेरिका र उत्तर कोरिया सम्भावित वार्ता

सम्बन्ध सुधारको प्रयासमा रहेका उत्तर कोरिया र अमेरिकाको सम्बन्धले कस्तो मोड लिन्छ होला भन्ने जिज्ञासा सन् २०२० मा पनि उठिरहने देखिएको छ । नाटकीय तरिकाले कहिले सम्वन्ध सुध्रेजस्तो हुने र कहिले कठोर सत्रुजस्तो देखिने यी दुई देशको सम्बन्ध सर्वाधिक चासोकै केन्द्रमा रहने गरेको छ ।

कुनै बेला एकअर्कालाई प्रमुख दुश्मन मान्ने यी देशले विश्वलाई नै चकित पार्दै सन् २०१८ मा पहिलोपटक र सन् २०१९ मा दुईवटा शिखर बैठक गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोनङ उनको शिखर बैठक यस वर्ष पनि हुने अपेक्षा गरिएको छ ।

मुसर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको फैसलाको विषयले यस वर्ष पनि चर्चा पाउने देखिन्छ । अदालतको फैसलाप्रति धेरैतिरबाट नकारात्मक टिप्पणी भएको र देशकै सेनाले समेत असन्तुष्टि जनाएले यो विषयले सन् २०२० मा नयाँ मोड लिन सक्ने देखिएको छ ।

यस फैसलाका विरुद्धमा उनले अपिल गर्ने चर्चा सुरु भइसकेको छ । त्यस्तै, अर्को अदालतले यस विषयमा के फैसला गर्ला भन्ने चर्चा पनि रहन्छ । र यदि अर्को अदालतले पनि मुत्युदण्डकै फैसला गर्‍याे  भने पनि त्यस विषयले झनै चर्चा पाउनेछ । उनलाई मृत्युदण्ड नै दिने काम भयो भने पनि त्यस घटनाको चर्चा विश्वव्यापी हुनेमा आशंका रहँदैन ।

प्रधानमन्त्रीमा महिन्द्रा वा उनको बहिर्गमन

अनेक राजनीतिक घटनाक्रममका कारण गत वर्ष चर्चैचर्चामा रहेको श्रीलंकामा यस वर्ष संसदीय निर्वाचन हुँदै छ । गतवर्ष भएको राष्ट्रपतीय निर्वाचनबाट पूर्वरक्षासचिव गोटावाय राजापक्षे निर्वाचित भएपछि नयाँ मोड लिएकाले श्रीलंकामा अब हुने संसदीय निर्वाचनलाई महत्त्व र उत्सुकताका साथ हेरिएको छ ।

नवनिर्वाचत राष्ट्रपति राजपाक्षेले आफ्ना दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकाले आउँदो संसदीय निर्वाचनले महिन्दाको पद जोगाउँछ या खोस्छ भन्ने विषयको निर्धारण हुनेछ । श्रीलंकामा आगामी डिसेम्बर १ भन्दा अगावै संसदीय निर्वाचन गरिसक्नुपर्ने अवस्था छ ।

ओलम्पिक र वर्ल्ड कप

वर्ष २०२० मा पनि विश्वव्यापी खेलहरू धेरै हुने तालिका बनिसकेको छ । तर, बढी चर्चामा रहने खेलकुद प्रतियोगिता भने मुख्य गरी तीनवटा छन् । सर्वाधिक चासोका साथ हेरिने समर ओलम्पिक यही जुलाई २४ देखि ९ अगस्टसम्म जापानमा हुने भएको छ ।

प्रतियोगितामा २ सय ६ देश सहभागी हुने अपेक्षा गरिएको र गत डिसेम्मबरकाे अन्त्यसम्ममा १ सय ३९ देशका नेसनल ओलम्पिक कमिटीहरू प्रतियोगितामा सहभागी हुन योग्य ठहरिइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा ३३ खेलमा ३ सय ३९ इभेन्ट्स हुने तय भएको छ । समर ओलम्पिक हरेक चार वर्षमा हुने गर्दछ । अर्को प्रतियोगिता २०२४ मा पेरिसमा हुने तय भइसकेको छ भने यसअघि २०१६ मा ब्राजिलमा भएको थियो ।

त्यसैगरी, क्रिकेटतर्फका दुईवटा वर्ल्ड कप हुने भएका छन् । अन्डर १९ क्रिकेट वर्ल्डकप दक्षिण अफ्रिकामा यही १७ जनवरीदेखि ९ फेबु्रअरीसम्म हुने भएको छ । प्रतियोगितामा १६ समूह सहभागी हुनेछन् भने ४८ खेल हुनेछन् । हरेक दुई/दुई वर्षमा हुने यो प्रतियोगिता यसअघि सन् २०१८ मा न्युजिल्याण्डमा भएको थियो । क्रिकेटतर्फ आईसीसी वमेन्स टी २० वर्ल्ड कप हुनेछ ।

अस्ट्रेलियामा यही फेब्रुअरी २१ देखि मार्च ८ सम्म प्रतियोगिता हुने तय भइसकेको छ । उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले भारतसँग खेल्नेछ । प्रतियोगितामा १० टोली सहभागी हुने र २३ खेल हुने जनाइएको छ । हरेक दुई/दुई वर्षमा हुने यो प्रतियोगिता यसअघि २०१८ मा वेस्ट इन्डिजमा भएको थियो भने अर्को प्रतियोगिता २०२२ मा दक्षिण अफ्रिकामा हुने तय भइसकेको छ ।

अमेरिकाले राष्ट्रपति छान्ने

विश्वकै सर्वाधिक चर्चामा रहने अमेरिकी राष्ट्रपतिको निर्वाचन यही वर्षको नोभेम्बर ३ मा हुँदैछ । अघिल्लो वर्षदेखि नै नयाँ राष्ट्रपति चयनका लागि हुने निर्वाचनको प्रचारप्रसार सुरु भइसकेको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल दोहोर्‍याउन गत जूनमा चुनाव प्रचारप्रसार अभियानको औपचारिक घोषणा गरेका थिए । आगामी चार वर्षका लागि हुने निर्वाचनमा उम्मेदवार बन्ने अन्य प्रतिश्पर्धीहरूको चर्चा पनि सुरु भइसकेको छ ।

राष्ट्रपतिको निर्वाचनअगाडि पार्टीको तर्फबाट उम्मेदवार छनाेट गर्न आन्तरिक निर्वाचन हुनेछ । ट्रम्पका विरुद्धमा डेमोक्र्याट पार्टीको तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडनको सम्भावना बढी रहेको बताउने गरिएको छ । ट्रम्पको अनौठो नेतृत्व शैली, विरोहरूको शृंखला, विभाजनकारी मानिने नीतिलगायतका कारणले प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

विभिन्न देशमा आमनिर्वाचन

सन् २०२० मा विश्वका धेरै देशमा आमनिर्वाचन हुने भएका छन् । कुनै देशले नयाँ राष्ट्रपति पाउनेछन् भने कतिपय देशमा संसदीय निर्वाचन हुन लागेकाे छ । विशेष गरेर अफ्रिकाका बुरुण्डी, मध्य अफ्रिका, ताजकिस्तान, युरोपको बेलारुस, ग्रीक, पोल्याण्ड, दक्षिण अमेरिकाको बोलिभियालगायतका देशमा सन् २०२० मा राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ ।

त्यसैगरी बुरुण्डी, इजिप्ट, सोमालिया, जोर्डन, किर्गिस्तान, मंगोलिया, म्यानमार, सिंगापुर, श्रीलंका, अजरबैजान, क्रोएसिया, जर्जिया, लिथुआनिया, रोमानिया, सर्बिया, स्लोभाकिया, पेरु, भेनेजुएला, इरान, इजरायल, सिरियालगायतका देशमा संसदीय निर्वाचन यी देशमध्ये कतिपयमा निर्वाचनको मिति तय भइसकेको छ भने कतिपय देशमा मिति घोषणा हुन बाँकी छ । 

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै