२०८१ बैशाख, २६ बुधबार

मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी पेश

सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरण दलबाट  मुख्यमन्त्रीमा नेकपा (एस) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधार (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दाबी गर्न दिनुभएको समयसीमाअनुसार सोडारीले बिहीबार मुख्यमन्त्रीमा दाबी गरेका हुन् । 
सङ्घीय समीकरणमा रहेका दल एमाले १०, माओवादी १०, समाजवादी चार, नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरी २७ जनाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका छन् ।
सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिने सहमति भए पनि नेकपा (एमाले) ले निर्णयमा ढिलाइ गर्दा बुधबार र बिहीबार बिहानसम्म मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत हुन सकेको थिएन । एमालेले एकीकृत समाजवादीका  सोडारीलाई मुख्यमन्त्री बनाउन तयार भएपछि दाबी पेश गरे ।
प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्ति पार्टीकै दुईवटा दाबेदारीले मुख्यमन्त्री नियुक्तिमा निष्कर्षमा पुग्न नसकेको बताउँदै वैशाख ४ गते दोस्रो पटक मुख्यमन्त्रीको दाबीका लागि आव्हान गरेका थिए ।
सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्नुका लागि २७ जना प्रदेश सभा सदस्यको आवश्यकता पर्छ । अर्कोतिर नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्तिका पाँच र राप्रपाका एक जना रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति: बिहीबार बैशाख ६, २०८१/Thursday 04-18-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै