२०८१ जेठ, ३ बिहीबार

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

नेपाली कांग्रेसले आमचुनाव जितेको बझाङ ९क० प्रदेशसभाको उपचुनावको नतिजा नेकपा एमालेले उल्ट्याएको छ ।
सोमबार आएको अन्तिम मत परिणाममा एमालेका दमन भण्डारीले कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतान्तरले पराजित गरे ।
२०७४ मंसिरको प्रदेशसभा निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले यो क्षेत्रबाट जितेका थिए । गत वर्ष असारमा भएको सडक दुर्घटनामा परी सिंहको निधन भएकाले उपचुनाव भएको हो । यो चुनावमा कांग्रेसले पृथ्वीबहादुरकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको थियो । तर अभिषेकले जित जोगाउन सकेनन् ।
सिंहले ११ हजार ३४६ मत पाउँदा एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याएर जिते । माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार ८३१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार २१४ मत ल्याए ।
२०७४ र २०७९ को आमचुनावमा गठबन्धन भएपनि यो उपचुनावमा कुनै पनि दलहरुबीच गठबन्धन भएको थिएन । २०७९ मंसिरको चुनावमा माओवादी र एकीकृत समाजवादीको समर्थन पाएर कांग्रेसका सिंहले जितेका थिए ।
तर यसपटक सत्तारुढबीच समेत प्रतिस्पर्धा भएको थियो । अलग–अलग भएको प्रतिस्पर्धामा एमालेका भण्डारीले बाजी मारे ।
पार्टी विभाजनपछि पुराना र सिनियर नेता भानुभक्त जोशी, जिल्ला अध्यक्ष दिलबहादुर सिंह लगायत नेताहरु एकीकृत समाजवादीतिर लागे । दमन भण्डारी भने १० बुँदे सहमतिअनुसार एमालेमै बसे ।
५७ वर्षका भण्डारीले चुनावमा उम्मेदवार बनेको र जितेको यो पहिलोपटक हो । जबकी उनी २०४२ सालदेखि राजनीतिमा लागेका नेता हुन् ।छबिसपाथिभेरा गाउँपालिका–१ का भण्डारीले काठमाडौस्थित नेपाल ल क्याम्पसबाट राजनीति थालेका थिए ।
पढाइ सकेपछि बझाङ फर्किएका भण्डारीले २०५४ सालमै तत्कालीन मटेला गाविसको अध्यक्ष जितेका थिए । कानुनको अध्ययन र एमालेको विद्यार्थी राजनीतिको पृष्ठभूमि हुँदै गाविस अध्यक्ष जितेका भण्डारी २०५५ सालमै एमाले जिल्ला सदस्य बनेका हुन् । त्यसबेला गाबिस राष्ट्रिय महासंघका जिल्ला अध्यक्षसमेत बने ।
विद्यार्थी, युवा र जिल्लामा पार्टीको राजनीतिमा पनि उनी सक्रिय थिए । युवा संघमा भण्डारी तत्कालिन सेती अञ्चल सचिव समेत बने । तर संसदीय राजनीतिमा उनले अवसर पाएका थिएनन् । भण्डारीले संसदीय राजनीतिमा अहिलेसम्म अवसर नपाउनुमा बझाङमा उनी भन्दा सिनियर नेताहरु धेरै हुनु हो ।
भानुभक्त जोशी, भैरवबहादुर सिंह, अर्जुनबहादुर थापा, लालबहादुर थापा, मानवबहादुर खत्री, दिलबहादुर सिंह लगायत नेताहरु बझाङमा दमनका अग्रज हुन् । यिनै नेताहरुले २०४८ सालदेखि पालैपालो चुनाव लड्दै आए । सिनियर नेताहरु भएकाले दमन भण्डारीले पार्टीबाट संसदीय राजनीतिको टिकट कहिल्यै पाएका थिएनन् ।
२०७४ सालको चुनावपछि प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत चुनाव हुन थाल्यो । तर दमनले अवसर पाएका थिएनन् ।
२०७४ मा वाम गठबन्धन भएकाले प्रतिनिधिसभा तर्फ एमालेकै भैरवबहादुर सिंहले टिकट पाउँदा प्रदेशसभाको ९१० मा अर्जुनबहादुर थापा र ९२० तर्फ माओवादीका देवकी थापाले टिकट पाइन् । दुई प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव यही गठबन्धनले जित्यो । प्रदेशसभा सदस्य जितेका अर्जुन सुदूरपश्चिम प्रदेशसभाको सभामुख बने ।
वाम गठबन्धनपछि एमाले र माओवादीबीच पार्टी नै एकता भएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बन्यो । तर त्यो नेकपाको एकता २०७७ मा भंग भयो भने २०७८ मा एमाले पनि विभाजित भयो ।
पार्टी विभाजनपछि पुराना र सिनियर नेता भानुभक्त जोशी, जिल्ला अध्यक्ष दिलबहादुर सिंह लगायत नेताहरु एकीकृत समाजवादीतिर लागे । दमन भण्डारी भने १० बुँदे सहमतिअनुसार एमालेमै बसे । २०६९ मा पार्टी सचिव भएकाले एमाले विभाजनपछि २०७८ मा उनी एमाले बुझाङको जिल्ला अध्यक्ष बने ।
तर जिल्ला अध्यक्ष हुँदा पनि २०७९ को आमचुनावमा उनले टिकट पाएनन् । प्रतिनिधिसभातर्फ एमालेमै रहेका सिनियर नेताहरुलाई पन्छाउँदै ऐन महरले टिकट पाउँदा प्रदेशसभाको ९१० तर्फ अफिलाल ओखेडा र ९२० तर्फ लालबहादुर रावलले टिकट पाए ।
दमन भण्डारीको भूमिका भने २०४८ सालका चुनावहरु जस्तै पार्टीका उम्मेदवार जिताउनेमा सीमित भयो । यद्यपि चुनावी नतिजा एमालेको पक्षमा आएन । प्रतिनिधिसभा र दुवै प्रदेशसभामा एमालेका उम्मेदवार पराजित भए ।
दमन भण्डारीको क्षेत्र रहेको बझाङ ९१० मा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर चुनाव जित्दा एमालेका ओखेडाले १३ हजार ३३६ मत मात्र ल्याए । चुनाव जितेपछि पृथ्वीबहादुर सिंह सुदूरपश्चिम सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए । तर सडक दुर्घटनामा परी सिंहको निधन भयो, जसकारण उपचुनाव गर्नुपर्‍यो ।
यो उपचुनावमा भने उम्मेदवार सिफारिसमै बझाङ एमालेमा आन्तरिक मतदान भयो । मतदानमा दमन भण्डारीले लोकप्रिय मत ल्याए । उनले ९४ मत पाएर एक नम्बरमा पर्दा अफिलाल ओखेडाले ६०, प्रयागराज जोशीले १३ र गोकुल सिंहले २८ मत पाए । जबकी अफिलाल २०७९ को चुनावमा टिकट पाएर उम्मेदवार थिए ।
महिलातर्फ राधा विष्टले ६१ र जुना जाग्रीले ६८ मत पाएका थिए । सवैभन्दा धेरै मत पाएर पनि आकांक्षी सबैको नाम पार्टी केन्द्रमा पठाइएको थियो ।
आन्तरिक मतदान गराएर क्रमानुसार आएका नामहरु मध्ये दमन भण्डारीलाई नै पार्टी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको थियो । यसरी आन्तरिक मतदानमार्फत् टिकट लिने विधि अपनाएका भण्डारीले संसदीय चुनावमा पनि कांग्रेसका उम्मेदवारलाई हराउँदै प्रदेशसभा सदस्य जिते ।
अनलाइन खबरबाट साभार

प्रकाशित मिति: सोमबार बैशाख १७, २०८१/Monday 04-29-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै