२०८१ बैशाख, २७ बिहीबार

नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा शपथ ग्रहण

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी नेता दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले लिएका हुन् । उनी आजै साँझ नै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणका दल नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १० , नेकपा ( एकीकृत समाजवादी) चार , नागरिक उन्मक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ । सो संख्या सुदूपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन्।
सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका थिए ।

 

को हुन सोडारी
मुख्यमन्त्री दीर्घबहादुर सोडारी बुबा लोकबहादुर सोडारी र आमा कटुदेवीको कोखबाट २०३४ फागुन १६ गते अछाम जिल्लाको हालको मंगलसैन नगरपालिकाको कालागाउँमा जन्मिएका थिए । 
उनले उच्च शिक्षाको अध्ययन कैलाली बहुमुखी क्याम्पसमा गरेका थिए । स्नातक तहसम्मको अध्ययन गरेका सोडारी २०४६ सालमै नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको सदस्य, २०४८ सालमा अछाम क्षेत्र नम्बर–२ को क्षेत्रीय सचिव भए । कैलाली बुहुमुखी क्याम्पसमा ०५१ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीको उपाध्यक्ष, अध्यक्ष हँुदै जिल्ला सदस्य र केन्द्रीय सदस्य भएका छन् ।
२०५० सालदेखि मसुरियामा बसोबास र पार्टी राजनीति थालेका सोडारीले पार्टीको तत्कालीन इलाका कमिटी सचिव, २०६० सालमा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुदै छैठौं जिल्ला अधिवेशनबाट २०६६ सालमा पार्टीको जिल्ला सचिव चुनिए । सातौं अधिवेशनबाट २०७० सालमा नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्ष निर्वाचित भएका थिए सोडारी । 
सोडारी ३६ वर्ष कै उमेरमा एमालेको जिल्ला अध्यक्ष चुनिएका हुन् । यसका साथै नेकपा (एमाले) को आठौं र नवौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्न अवसर उनले पाए । 
२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य पदमा उम्मेदवार भएका सोडारी माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएका थिए  भने २०७४ एमाले र माओवादी गठबन्धनका साझा उम्मेदवार भएर चुनाव कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा (क) बाट बिजयी भए ।
कुशल संगठककारुपका क्रियाशील युवा नेता सोडारी २०७४ असारमा सम्पन्न स्थानीयको तहको निर्वाचनमा नेकपा (एमाले) कैलालीका १३ मध्ये ७ वटा तहमा प्रमुख पदमा निर्वाचित गराउन सफल भए । उनकै पार्टी नेतृत्वकालमा एमालेले कैलालीमा पहिलो पटक जिल्ला  समन्वय समिति बनाउन सफलता हासिल गरेको थियो । 
उनी ०७४ को सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकास र भौतिक पूर्वाधार विकास मन्त्री गरेर दुईपटक मन्त्री भएका छन् ।  एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीको केन्द्रीय सदस्य सोडारी सोही बेला समाजवादीको दलको नेता भएका हुन् । 
०७९ मा कांग्रेस, माओवादीबाट कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा (क) बाट निर्वाचित सोडारी अहिले समाजवादीको दलको नेता छन् । 

प्रकाशित मिति: बिहीबार बैशाख ६, २०८१/Thursday 04-18-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै