२०८१ बैशाख, २२ शनिबार

तीन करोड ३७ लाखमा निर्माण गरिएको विद्यालय भवनको उद्घाटन

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत तीन करोड ३७ लाखमा निर्माण गरिएको दुहुँ गाउँपालिकास्थित जनविकास माविको विद्यालय भवनको उद्घाटन गरिएको छ । विद्यालय भवनको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 
यस्तै भारत सरकारको दुई करोड ८२ लाख आर्थिक सहयोगमा निर्माण हुने दार्चुलाको व्याँस गाउँपालिका–६ स्थित हिमालय माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिवसोनाले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगले व्याँस गाउँपालिकाको हिमालय माविलाई दुई तले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माण गरिनेछ ।
भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो । हिमालय माविका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने जनविकास माविका परियोजना कार्यान्वयन दुहूँ गाउँपालिकामार्फत गरिनेछ । व्याँस गाउँपालिका र दुहूँ गाउँपालिकाका अध्यक्षले भारत सरकारको सहयोगको प्रशंसा गरेका छन् ।
दार्चुलास्थित हिमालय मावि र जनविकास माविमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुने उनीहरुले बताएका छन् । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशमा ४० वटा परियोजना छन्, जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

 

प्रकाशित मिति: शनिबार बैशाख ८, २०८१/Saturday 04-20-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै