२०८१ बैशाख, १७ सोमबार

दार्चुलामा विद्यालय उमेरका बालबालिका लागुऔषध सेवनमा फस्दै

दार्चुलामा विद्यालय पढ्ने उमेरका अधिकांश बालबालिका लागुऔषध सेवन गर्ने गरेको खुलेको छ । जिल्लामा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययन गर्ने अधिकांश बालबालिका कुलतमा परी लागुऔषध सेवन गर्ने गरेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको क्रममा अधिकांश विद्यालय तहका बालबालिका लागुऔषध सेवन गर्ने गरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार दुई महिनाको अवधिमा ३ सय ४१ जना विद्यार्थी कुनै न कुनै रुपमा लागुऔषध सेवन गर्ने गरेको भेटिएको जानकारी दिए ।
अधिकांश बालबालिका सानो मात्रामा चरेश सेवन गर्ने गरेको भेटिएका छन् । संकास्पद बालबालिकाको पकेट चेकजाँच गर्दा उनीहरुमा चरेश, चुरोट जस्ता लागुऔषध भेटिएका छन् । उनीहरुलाई पहिलो चरणमा सम्झाईबुझाई छोडिएको छ । केहीले भारतीय बजार धारचुलाबाट लागुऔषध ल्याएरसमेत सेवन गर्ने गरेको भेटिएको डिएसपी सिंह बताउँछन् ।  अधिकांश बालिकाहरु समेत लागुऔषध सेवन गर्ने, मदिरा, वियर, जस्ता पेयपदार्थ सेवन गर्ने गरेको महाअभियानको क्रममा भेटिएको उनले बताए ।
‘हाम्रा छोराछोरी लागुऔषधको कुलतमा फसिसकेका छन्,’ उनले भने ‘अब सुधार्ने या के गर्ने ?’ पहिलो पटक दार्चुलाबाट सुरु भएको लागुऔषध विरुद्धको महाअभियानमा सबैले साथ दिए, लागुऔषध सेवनमा फसेका बालबालिका सुधार गर्न सकिन्छ । सदरमुकाम खलंगा आसपासका क्षेत्रको मात्रै दुई महिनाको तथ्यांकले बालबालिका कुनै न कुनै रुपमा लागुऔषध सेवनमा फसिसकेका छन् । 
यस्तै सदरमुकाम आसपासमा २ सय ४७ जना युवा उमेरका व्यक्ति लागुऔषध सेवनकर्ताको रुपमा भेटिएका छन् । महाअभियान चलेपछि लागुऔषध सेवनकर्ता खोजीगर्दै जादा ठूलो संख्यामा युवाहरु लागुऔषध सेवनकर्ताको रुपमा भेटिएका छन् । अहिले भारतबाट आउने लागुऔषध पूर्ण रुपमा बन्द गरिएको छ । ‘बालबालिका, युवाहरुलाई धारचुला दार्चुला वारपारमा विशेष निगरानी राखेका छौ,’ डिएसपी सिंह भन्छन्, ‘केही लागुऔषध सेवनकर्ताले अहिले चेकजाँचमा कडाई गर्दा जिल्ला छोड्नुपरेको छ ।’ लागुऔषधसहित भेटिएका युवाहरुलाई अहिले भारतीय बजार जानसमेत दिइएको छैन् । 
‘अब लागुऔषध विरुद्धको यो अभियान जिल्लाका ९ वटै स्थानीयतहसम्म पु¥याउँछौ,’ं डिएसपी सिंहले भने, ‘सबै पालिकाका जनप्रतिधि, शिक्षक, बुद्धिजीवि अभिभावकले सहयोग गर्नुपर्छ ।’ जिल्ला प्रहरी कार्यालय प्रमुखको रुपमा दार्चुला पुगेको दुई महिनाको अवधिमा जिल्लामा पहिलो काम भनेकै लागुऔषध विरुद्धको महाअभियान हो । यो बीचमा जिल्लामा अपराधका घट्ना घटेका छैनन् । शान्ति सुरक्षा कायम राख्नमा सुदूरपश्चिम प्रदेशको दार्चुला पहिलो नम्बरमा परेको छ ।
महेन्द्र नमूना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशी जिल्लाको चूनौती भनेकै सबैभन्दा ठूलो लागुऔषध सेवन भएको बताउँछन् । सीमा क्षेत्र भएको कारण भारतबाट सहजै लागुऔषध नेपालमा पुग्ने गर्छ । बालबालिका नियन्त्रण गर्न शिक्षकले मात्र नभई अभिभावकले समेत चनाखो हुनुपर्नेमा उनको सुझाव छ ।
लागुऔषधका रूपमा गाँजा, अफिम, सुँघ्ने र उत्तेजना दिने पदार्थको प्रयोग हुने प्रहरीले जनाएको छ । सबैभन्दा बढी गाँजा र त्यसले बनेका लागू पदार्थको प्रयोग भइरहेको छ । साथीको दबाब, मनोरञ्जन, तनावजस्ता कारणले पनि लागुऔषध प्रयोगकर्ता बढेको डिएसपी सिंह बताउँछन् । 
बालबालिका गलत संगतका कारण बढी कुलतमा फसेको देखिन्छ । बालबालिकालाई जोगाउने बढी दायित्व अभिभावककै हुन्छ । किशोरावस्थाका नानीबाबुको आनीबानीको निगरानी आवश्यक छ ।
प्रहरीले दुई महिनाको अवधिमा लागुऔषध लगायत १६ वटा विषयमा जिल्लाभरि ५४३ वटा कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अझै यो अभियान सबै स्थानीय तहसम्म पुगेको छैन् । लागुऔषध, बालविवाह, बहुविवाह, अपराध, लगायतका १६ विषयमा प्रहरीले निरन्तर अभियान सञ्चालन गर्ने डिएसपी सिंहको भनाई छ । प्रहरीले सीमित स्रोत साधनका बीच अब जिल्लामा ‘ एक दिन–एक टोल– घरदैलो कार्यक्रम’ कार्यक्रम सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।
बालबालिका तथा किशोरकिशोरीलाई कुलतबाट जोगाउन प्रहरीसँग अब सबैले साथ दिनुपर्ने बताउँछन्, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी । हामीले पहिलो चरणमा सुरक्षाकर्मी बोलाएर कार्यक्रमबारे जानकारी गराएका छांै, यो अभियान सबै गाउँबस्तीसम्म आवश्यक छ । 
लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी स्थानीय तहले भौतिक विकासभन्दा पनि बालबालिकाको भविष्यको विकास गर्नतर्फ लगानी गर्नुपर्ने धारणा राख्छन् । बालबालिका युवा नै कुलतमा लागेर नरहे हामीले गर्ने भौतिक विकासले कुनै अर्थ राख्दैन्, उनले भने ‘यसको लागि बालबालिका युवालाई कुलतबाट जोगाउन प्रहरीसँग हातेमालो गरौं ।’
व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामी अभिभावकले बालबालिकालाई समय दिन नपाउँदा आफ्नो छोरा कुलतमा फसेको बताउँछन् । अधिकांशले बालबालिका राम्रो शिक्षा दिनभन्दै सदरमुकाम खलंगामा पढ्न पठाउँछन् । कोहीले हजुर आमा लगाएर बालबालिका राम्रो विद्यालयभन्दै सदरमुकाम पठाउँछन् । तर बालबालिका विद्यालय जान्छन् कि जादैनन्, कस्तो संगत छ भने ख्याल नगर्दा अधिकांश सदरमुकाममै पढ्ने बालबालिका कुलत लागुऔषधमा फसेको उनको भनाई छ । 
प्रमुख जिल्ला अधिकारी किरण जोशी कुलत सेवनको असर समाजमा हुने आपराधिक गतिविधिसँग समेत जोडिने भएकाले यसलाई रोक्न जिम्मेवार भएर लाग्नुपर्ने बताउछिन् । विद्यार्थीलाई लागुऔषध सेवनबाट बचाउन अहिले प्रहरी प्रशासनले विद्यालय वरपर रहेका मदिरा तथा सुर्तिजन्य पसलहरु बन्द गर्ने तथा विद्यार्थीले देख्ने गरी सजिसजावटमा रोक लगाएको छ । 

प्रकाशित मिति: आइतबार कार्तिक २६, २०८०/Sunday 11-12-2023

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै