२०८१ बैशाख, २३ आइतबार

उपकरण मर्मत नहुँदा गोकुलेश्वर अस्पतालमा उपचारमा समस्या बन्दै

शैल्यशिखर नगरपालिकास्थित गोकुलेश्वर अस्पतालमा रहेको एक्सरे मेसिन विग्रिएको दुई महिना बढि भएको छ । दार्चुला सदरमुकामपछिको दोस्रो ठूलो बजारमा रहेको अस्पतालको मेसिन विग्रिएपछि अहिले विरामीको उपचारमा समस्या भएको हो ।
‘एक्सरे मेसिन नहुँदा विरामीको चेकजाँच हुन सकेको छैन्,’ गोकुलेश्वर अस्पतालका डाक्टर मनोज पालले भने, ‘विरामी आउँदा सिधैं बाहिर पठाउनुपर्ने अवस्था छ ।’ अस्पतालमा रहेको एक्सरे मेसिन पनि मंगलबारदेखि चलेको छैन् । उपकरणहरु दिनप्रतिदिन बिग्रिदै गएका छन् ।  
विरामीको रगत परिक्षण गर्ने उपकरण (कुल्टर) पनि विग्रिएको लामो समय भइसक्यो । अस्पतालमा रहेका सबै उपकरण विग्रिदा विरामीको चेकजाँच गर्न पाइएको छैन् । मर्मत सम्भारतर्फ कसले ध्यान दिने ? 
शैल्यशिखर नगरपालिकाअन्तर्गत रहेको गोकुलेश्वर अस्पतालको उपकरण विग्रिएपनि मर्मत सम्भार हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । यो अस्पतालमा दार्चुलाको मालिकार्जुन, नौगाड, अपिहिमाल र मार्मा गाउँपालिकाको साथै बैतडीको डिलाशैनी, क्षेत्रका अधिकांश विरामी यहि उपचार गराउँछन् । 
स्थानीय सरकारले समयमै ध्यान नदिएको कारण नागरिकको स्वास्थ्यमाथि खेलवाड हुने अवस्था पुगेको स्थानीय राजेन्द्र पन्त बताउँछन् । ‘हामीले समयमै अस्पतालका उपकरण व्यवस्थापन र औषधिको लागि स्थानीय सरकारलाई आग्रह गरेका छौं’, उनले भने, ‘पहल गर्छौ भन्नुभएको छ, हामीले पर्खिएका छौं ।’ अस्पताललाई कसरी राम्रो बनाउन सकिन्छ त्यसतर्फ सबैको ध्यान जानुपर्छ ।
स्थानीय पन्तका अनुसार अस्पतालमा औषधि अभाव हुँदै गइरहेको छ । स्थानीय तहका स्वास्थ्य संस्थामा पनि प्रयाप्त औषधि छैन् । अस्पतालको समस्याबारे हामीले खबरदारी गरेका छौं । शैल्यशिखर नगरपालिका–२ का चक्रमान विक गोकुलेश्वर अस्पतालमा सामान्य औषधि समेत नपाउँदा आफ्नो बुवाले ज्यान गुमाएको बताए । 
‘यति ठूलो अस्पतालमा सामान्य औषधि नपाउनु विडम्बना छ,’ उनले भने ९८ प्रकारका औषधि पाउँछ भन्छन्, तर अस्पताल आउँदा केही पाउन सक्ने अवस्था छैन् । 
शैल्यशिखर नगरपालिका स्वास्थ्य संयोजक शिवदत्त जोशीका अनुसार अस्पतालमा विग्रिएका उपकरणबारे आफु जानकार भएको बताए । हामीले उपकरण मर्मतको लागि प्रयास गरिरहेका छौं । प्रयाप्त बजेट अभावले पनि समयमै काम गर्न नसकिएको उनको स्पोष्टिोक्ति छ । स्वास्थ्य संस्थाहरुमा भने औषधि अभाव नभएको उनको दाबी छ । 
शैल्यशिखर नगरपालिकाभरी एक अस्पतालसहित २२ वटा स्वास्थ्य संस्था छन् । गोकुलेश्वर अस्पतालको स्तरोन्नति तथा प्रभावकारी सञ्चालनको लागि अन्य स्थानीय तहसँग पनि समन्वय भइरहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बताए । ‘एउटै स्थानीय तहले सञ्चालन गर्न सक्ने अवस्था छैन्,’ भट्टले भने, ‘सबैको लागि पायक पर्ने ठाउँमा रहेको अस्पताल हुँदा स्रोतमा समन्वय भइरहेको छ ।’  
शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजयसिह धामी अस्पताललाई प्रदेश सरकार मातहत सञ्चानल गर्नु आवश्यक रहेको बताउँछन् । बजेट स्रोत प्रयाप्त छैन् । आन्तरिक स्रोत छैन् । ‘हामीसँग भएको श्रोतले स्वास्थ्य हेर्ने कि शिक्षा हेर्ने,’ उनले भने ‘सबै ठाउँमा थोरै थोरै गर्दा पनि बजेट पु¥याउन सकिने अवस्था छैन् ।’ 

प्रकाशित मिति: मंगलबार बैशाख ११, २०८१/Tuesday 04-23-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै