२०८१ बैशाख, २६ बुधबार

जीर्ण भवनमुनि भविष्य खोल्दै कलिला बालबालिका

शैल्यशिखर नगरपालिका–७ दोबाटामा रहेको भैरवनाथ आधारभुत विद्यालयको भवन जीर्ण भएको लामो समय भइसक्यो । १३ वर्ष अघि निर्माण भएको विद्यालय भवन मर्मत नहुँदा त्यहीँ जीर्ण भवनमुनि कलिला विद्यार्थी अध्ययन गर्ने गर्छन् । 
कक्षा १ देखि ३ सम्म पढाई हुने विद्यालयमा ३४ जना विद्यार्थी अध्ययनरत छन् । कार्यालय सहयोगीसहित ४ जना शिक्षक कर्मचारी छन् । विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या छ, विद्यालयका प्राधानाध्यापक जानकी धामीले सुनाइन् । ‘चर्को घाम र वर्षातमा पानी आउन साथ विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ ।’ नाममात्रैको विद्यालय छ । 
विद्यालय भवन जीर्ण हुँदा विद्यार्थीलाई विद्यालय पठाउन जोखिम रहेको अभिभावक गणेश खत्रीले बताए । कक्षा कोठामा निकै पुराना डेस्कबेन्च छन् । छानाको जस्तापाता खियाले छोपेको छ । कतै जस्तापाता उक्किन थालेको छ त कतै उक्किएर छानो पूरै बाहिरबाट भित्र देखिने भएको छ, उनले भने । झ्यालढोकामा पल्ला छैन, सबै खुलै छन् । गत वर्ष हुरीले छानाको जस्तापाता उडाइदियो । 
भवन मर्मतसम्भारका लागि वडा कार्यालय, नगरपालिका कार्यालयसँग हारगुहार गरिसक्दा पनि सुनुवाई भएको छैन् । डेस्कबेन्च अभावमा विद्यार्थीहरू चटाइ बिछ्याएर भुइँमा बस्न बाध्य छन् प्रज धामीले भनिन् । स्कुलको अवस्थाबारे सबैलाई थाहा छ तर कतैबाट बजेट आएको छैन । यो विद्यालयमा शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिकाका बालबालिका पढ्न आउँछन् । 
तीन कक्षासम्म पढाइ भए पनि नेपाल सरकारले बालविकास शिक्षकको एउटा मात्र दरबन्दी दिएको छ । अन्य दुुई जनालाई नगरपालिकाले मासिक आठ हजार रूपैयाँका दरले तलब दिने गरेको छ । 
शैल्यशिखर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष पुुष्पराज जोशीका अनुसार विद्यालय भवन मर्मतसम्भारका लागि नगरपालिकाले पहल गरिरहेको बताउनुहुन्छ । ‘हामी राम्रो नयाँ भवनका लागि पहल गर्दैछौं । आगामी वर्षको बजेटमा केही व्यवस्था हुन्छ होला ।  ‘विद्यालयको भौतिक संरचना सुधारका लागि संघ र प्रदेश सरकारसँग समेत बजेट माग गरेका छौ । भवन बनाउने कुरामा हामी आएदेखि पहल भइरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार बैशाख ६, २०८१/Thursday 04-18-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै