२०८१ बैशाख, १७ सोमबार

दार्चुलामा आत्महत्या गर्नेमा बालबालिकाको संख्या बढ्दो

नौगाड गाउँपालिका–२ सुण्डमुण्डुका १७ वर्षीय कमलेश टमटाले १९ फागुनमा घरभित्रै झुण्डिएर आत्महत्या गरे । बुवा बैदेशिक रोजगारीको सिलसिलामा भारतमा गएको बेला छोराले घरमै आत्महत्या गरेका हुन् । आत्महत्याको कारण भने खुलेको छैन् । 
महाकाली नगरपालिका–७ का २२ वर्षीया रविना पल्यालले फागुन १३ गते महाकाली नगरपालिका–४ खलंगास्थित डेरामा झुुण्डिएर आत्महत्या गरिन । प्रेम सम्बन्धमा रहेका पल्यालले प्रेममा धोका पाउने अवस्था आएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यी त प्रतिनिधि मूलक घट्नामात्रै हो । यसरी दार्चुलामा आत्महत्या गर्नेहरु दिनहुँ बढिरहेका छन् । 
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो समय दिनहुँ आत्महत्याका घट्ना बढिरहेका हुन् । आत्महत्या गर्नेमा बालबालिका पनि छन् । जिल्लाको पाँच वर्षको अवधिमा १५ जना बालिका र ८ जना बालकले झुुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी इन्स्पेक्टर गोविन्द भण्डारीका अनुसार पाँच वर्षयता आत्महत्याबाट ११७ जनाको ज्यान गएको छ ।  आर्थिक वर्षको हालसम्म १२ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिला बालबालिका र पुरुष छन् । यो वर्ष जेष्ठ पुरुष १ जना, ३ महिला, ५ पुरुष र ३ जना बालिकाले आत्महत्या गरेका छन् । 
आर्थिक वर्ष ०७९÷८० मा २५ जनाले आत्महत्या गरेका थिए । जसमा जेष्ठ पुरुष १, जेष्ठ महिला २, पुरुष ७, महिला ८, बालक ३ र बालिका ४ जनाले आत्महत्या गरे । ०७८।०७९ मा ९ पुरुष ११ महिला, १ बालक र १ बालिका गरी २२ जनाले आत्महत्या गरे । ०७७।०७८ मा जेष्ठ महिला १ जना, पुरुष ९ महिला ९ र ३ बालिकागरी २० जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यस्तै ०७६।०७७ मा ७ महिला ७ पुरुष, २ जना बालक र ३ जना बालिका गरी १९ जनाले आत्महत्या गरे भने ०७५।०७६ मा जेष्ठ पुरुष २ जना, पुरुष ५ जना महिला ७ जना, २ जना बालक र ३ जना बालिका गरी १९ जनाले आत्महत्या गरेका छन् । 
महत्वाकांक्षा व्यक्तिगत जीवनमा आत्मसन्तुष्टि नमिलेपछि व्यक्ति डिप्रेसनमा जाने र त्यसको चरम रूप आत्महत्या हुने प्रहरी अधिकारी बताउँछन् । ‘आत्महत्याको कारण यो नैहो भनेर भन्न सकिदैन्,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख डिएसपी शिवबहादुर सिंहले भने, ‘तैपनि मान्छेका अपेक्षा पूरा नहुँदा आत्महत्या गरेको देखिन्छ ।’ 
डिएसपी सिंहका अनुसार आत्महत्याका पछाडि आर्थिक र समाजिक कारणहरू समेत जोडिएका हुन्छन् । आर्थिक कारणमा बेरोजगारी, वैदेशिक रोजगार र महिलाहरू आत्मनिर्भर नहुनु कारणहरू हुन् । यस्तै सामाजिक कारणमा परपुरुष वा स्त्रीसँगको अवैध सम्बन्धले पनि आत्महत्याको बाटो देखाउने गरेको अध्ययनले देखाउँछ ।
मानिसमा देखिने कार्य असफलता, प्रेममा सफल हुन नसक्नु, घरेलु हिंसा, पारिवारिक कलह, न्याय प्रणालीमा पहुँचको कमी र कतैकतै दीर्घरोग लागेका व्यक्तिले समेत अब ठीक हुन्न सकिन्न भन्ने थाहा पाएपछि आत्महत्या गरेका उदाहरणहरू समाजमा छन् ।
आत्महत्याको मुख्य कारण व्यक्तिको मानसिक मनोदशा नै हो डिएसपी सिंह भन्छन् । मानिस मनोवैज्ञानिक रूपमा कमजोर हुँदै गएपछि निराशाको चरम रूप आत्महत्याको बाटो रोज्छ । यसको लागि हामीले गर्न सकिने अवस्था पनि केही छैन् । 
हाम्रो समाजमा पर्याप्त प्रचार, जनचेतना, सरोकार, प्राथमिकतामा नपरेको कारण पनि आत्महत्या बढ्दोमात्रा देखिएको अधिवक्ता हरिशचन्द्र जोशीको भनाई छ । मानसिक समस्या र आत्महत्यासँग जोडिएका तत्वहरुको पहिचान र व्यवस्थापन गर्न सके थोरै भएपनि कम गर्न सकिन्छ । मानिस निराशामा परेपछि सबैभन्दा सजिलो बाटो आत्महत्या रोज्छन् । 
कुनै पनि व्यक्तिमा मनोरोगका लक्षणहरूको समयमै पहिचान, उपचार र पुनःस्थापन भएमा धेरैजसो आत्महत्याको सम्भावना कम हुन सक्छ । हाम्रो समाजमा अहिले विदेशको लहर, नेपालमा केही पनि हुँदैन् पाइदैन भन्ने भाष्य परेको छ । बौद्धिकरुपमा नेपाली धेरै पछाडि परेका छन् । शैक्षिक बेरोजगारी, र कमसल जनशक्तिमात्रै यो देश बच्दैछन् । बढ्दो प्रतिस्पर्धात्मक समयमा हाम्रा जनशक्तिले प्रतिस्पर्धाको साटो गलत मनोवृत्ति अंगाल्न थालेका छन् । 
आत्महत्याको व्यवस्थापनमा तगारोको रूपमा विद्यमान अज्ञानता, अन्धविश्वास, रुढी विचार र मिथ्या धारणा हटाउन सबैले मनोरोग र आत्महत्याबारे जान्ने, सुन्ने, बुझ्ने र सचेत हुने बेला आएको छ । 

 

प्रकाशित मिति: बिहीबार चैत १, २०८०/Thursday 03-14-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै