२०८१ मङ्सिर, २४ सोमबार

चार महिनामा ३२ लाख बढी भन्सार छलीको सामान बरामद

दार्चुलामा चार महिनाको अवधिमा प्रहरीले ३२ लाख बढीको भन्सार छलीको समान बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाको रेकर्ड अनुसार ३२ लाख २० हजार ९९० मूल्य बराबरको भन्सार छलीको समान बरामद गरेको छ । चालू आर्थिक वर्षको साउन महिनादेखि कात्तिक १५ गतेसम्मको तथ्यांकमा प्रहरीले उक्त परिमाणको भन्सार छलीको समान बरामद गरेको पाइएको हो । 
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार साउन २४ गते महाकाली नगरपालिका–८ धापबाट १३ हजार मूल्य बराबरको भन्सार छलीको चप्पल, खाने तेल, पास्ता, चिनी र बगोडेने विषादी पाउडर बरामद गरिएको छ । यस्तै भदौ २ गते धाप जामिरपानीबाट ४० हजार ४ सय मूल्य बराबरको लेडिज सुट, लेडिज कुर्ता र म्याक्सी बरामद गरियो ।
भदौ ८ गते महाकाली नगरपालिका–४ रिङ्नेताल क्षेत्रबाट १० हजार ९ सय मूल्य बराबरको चिनी, पास्ता र चामल, भदौ २२ गते शैल्यशिखर नगरपालिका–९ सतभोगेबाट घोडा बिडी, सलाई, हाईक्लास सुर्तीलगायत १ जीप नियन्त्रणमा लिइयो । करिब १० लाख ३१ हजार २ सय मूल्य बराबरको उक्त समान रहेको प्रहरीले जनाएको छ । यस्तै असोज ७ गते जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रुबाट ५८ लाख २२ हजार मूल्य बराबरको भन्सार छलीको सलाई, चिनी, नरिवललगायत खुद्रा समान बरामद गरिएको छ ।
असोज २३ गते महाकाली नगरपालिका–४ रिङ्नतालस्थित पसलबाट संचालकसहित चामल, चिनी, तेल, बिडी, त्रिपाल, सलाई तथा किराना सामान गरी ७३ हजार ८ सय मूल्य बराबरको उक्त समान बरामद गरिएको छ । यहि कात्तिक १ गते महाकाली नगरपालिका–४ रिङ्नतालबाट १३ हजार ८० मूल्य बराबरको चिनी, पास्ता र चामल, कात्तिक ४ गते महाकाली नगरपालिका–४ बाङ्गाबगड स्थितका दुई पसलबाट सञ्चालकसहित बिडी, चामल, चप्पल, आटा, खुद्रा समान गरेर ३ लाख ६९ हजार ९ सय १५ मूल्य बराबरको मालसमान बरामद भयो ।
कात्तिक ६ गते महाकाली नगरपालिका–४ बसपार्क क्षेत्रबाट १९ हजार ९५ मूल्य बराबरको मिठाई, चिनी, मिश्री र खुद्रा समान, महाकाली नगरपालिका–९ दत्तुबाट बिडी, कुपिण्डा मिठाई, सलाई र खाने तेल गरी २१ हजार ६ सय मूल्य बराबरको मालसमान बरामद गरिएको छ । यस्तै कात्तिक ७ गते महाकाली नगरपालिका–४ रिङ्नेतालबाट ४६ हजार ८ सय बराबरको २ सय ४३ किलोग्राम कुपिण्डा मिठाई बरामद गरियो । कात्तिक १५ गते प्रहरीले जिल्लाको मालिकार्जुन गाउँपालिका–८ पस्तीस्थित सडक खण्डबाट एक बोलेरो जीप र चालकलाई नियन्त्रणमा लिई ९ लाख ९९ हजार मूल्य बराबरको मालसमान बरामद गरी आवश्यक कारवाहीका लागि दार्चुला भन्सार कार्यालय पठाइएको छ ।
साढे तीन महिनाको अवधिमा प्रहरीले ३२ लाख बढीको भन्सार छलीको समान बरामद गरेको हो । जसमा ४ जना मान्छे र दुई वटा सामान पैठारी गर्ने साधन (जीप) नियन्त्रणमा लिइएका छन् ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा दार्चुलामा प्रहरीले १८ लाख ३५ हजार १ सय १५ मूल्य बराबरको भन्सार छलीको समानसहित १ जना मान्छे र दुई वटा सामान बोक्ने साधन (ट्याक्टर र जीप) नियन्त्रणमा लिएको थियो ।

गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षको चार महिनामा नै ७५ दशमलव ५१ प्रतिशतले भन्सार छलीको समान बरामदमा वृद्धि भएको छ । जिल्लामा प्रहरीले बिलबीजक नभएका तथा भन्सार छली गरी भारतबाट आयात गरिएका मालवस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए ।
‘भन्सार छली गरेर भित्रिएका सामानलाई बरामद गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ, प्रहरीले जिल्लाका सबै क्षेत्रमा निगरानी बढाएर बिलबीजकअनुसार नभएका सामान र मालवाहक सवारीसाधन तथा मान्छेलाई समेत आवश्यक कारबाहीका लागि भन्सार बुझाउने गरेका छौ,–उनले भने ।’

 

प्रकाशित मिति: आइतबार कार्तिक २५, २०८१/Sunday 11-10-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै