२०८१ चैत, २४ सोमबार

छ वटा स्थानीय तहका स्वास्थ्यकर्मी घरदैलो अभियानमा

दार्चुलाका नौ वटा स्थानीय तहमध्ये एक नगरपालिकासहित ६ वटा स्थानीय तहले कोभिड रोकथाम नियन्त्रणको लागि घरदैलो अभियान चलाएका छन् । घरदैलो अभियान अन्तर्गत, विरामीको लगत संकलन, उनीहरुको अवस्थाबारे जानकारी लिने, परामर्श सेवा तथा औषधी वितरण अभियान चलाएका हुन् ।
यहाँको नौगाड गाउँपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका, मालिकार्जुन गाउँपालिका, अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका र  महाकाली नगरपालिकाले  पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकहरुको घरैमा गएर कोरोना जाँच औषधी वितरण तथा परामर्श सेवा थालेका छन् ।
गाउँगाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्थानीय तहहरुले स्वास्थ्यकर्मी खटाएका हुन् । मालिकार्जुन गाउँपालिका, ब्याँस गाउँपालिका र शैल्यशिखर नगरपालिकामा भने बिरामीको मागको आधारमा स्वास्थ्यकर्मी घरदैलोमै पुग्ने गरेको बताएका छन् ।
स्वास्थ्यकर्मीहरुले घरघरमा गएर बिरामीको एन्टिजेन र पीसीआर परीक्षण गरिरहेका छन् । केही स्थानीय तहमा जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली खटिइ कोरोना परीक्षणका साथै स्वास्थ्य उपचार गरिरहेका छन् ।
पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत कोरोना संक्रमण फैलिएपछि गाउँमै आफ्ना स्वाथ्यकर्मी परिचालन गरी स्वास्थ्य परीक्षण तथा कोरोना जाँच र औषधी वितरण गरिरहेको अपि हिमाल गाउँपालिकाले जनाएको छ । 
दार्चुलामा अहिले दुबै (पीसीआर र एन्टिजेन) विधिबाट कोरोना परीक्षण भइरहेको छ । जिल्लामा पीसीआर प्रयोगशाला नहुदा स्वाव संकलन गरि बैतडी पठाउने गरिएको छ भने एन्टिजेन परीक्षण मात्रै यहाँ भइरहेको हो ।
तर पीसीआर रिपोर्टको नतिजा आउन हप्तादिन बढी समय लाग्दा संक्रमण झन फैलिने चिन्ता बढेको छ । कोरोना विरुद्ध लड्न मार्मा गाउँपालिकामा केस इन्भेष्टिकेशन एण्ड कन्टेक्ट आइडेन्टिफिकेशन (सीआइसीआई) समूह निर्माण गरेर वडास्तरीय केश अनुसन्धान तथा पहिचान गर्ने काम भइरहेको जनाएको छ ।
दुहुँ गाउँपालिकाले समेत कोभिडविरुद्ध बस्तीस्तरीय अभियान चलाएर जनप्रतिनिधिसहितको स्वास्थ्यकर्मीको टोली बस्तीस्तरमा खटिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
गाउँगाउँमा कोरोना सँग मिल्दाजुल्दा लक्षण भएका बिरामी हुदा स्थानीयहरुमा कोरोना नै हो कि भन्ने त्रास फैलिएको छ । बिरामी भएर पनि कोरोना पोजेटिभ रिपोर्ट आउँछ भन्ने डरले समेत उनीहरु स्वास्थ्य संस्थासम्म उपचार गर्न जादैनन् । 
गाउँमा परीचालन भएका स्वास्थ्यकर्मीले तत्काल बिरामी भइहाले आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री, मास्कसमेत घरघरमा पुगेर वितरण गर्न थालेको मार्मा गाउँपालिका कोरोना फोकल पर्शन सुजन नेपालीले सारथी खबरलाई जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय दार्चुलाले समेत होम आइसोलेसनमा रहेका संक्रमितका लागि फोन स्वास्थ्य सेवा संचालनमा ल्याएको छ । 

प्रकाशित मिति: शनिबार जेठ १५, २०७८/Saturday 05-29-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै