Close This
२०८१ कार्तिक, ७ बुधबार

सुदूरपश्चिममा शाहको दोस्रो पटक मुख्यमन्त्री

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार साँझ नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीबाट हटेको चार महिनामै शाह सत्तामा फर्किएका हुन् । २६ माघ २०७९ मा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । 
माओवादीले समर्थन फिर्ता लिएपछि उनले नाउपा र साना दलको समर्थनमा सरकार जोगाउन खोजे । एकपछि अर्को प्रयास असफल भएपछि २२ चैत २०८० मा राजीनामा दिए । उनलाई ६ वैशाखमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले मुख्यमन्त्री पदमा विस्थापित गरेका थिए ।
तर १७ असारमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भयो । त्यहीबेला प्रदेश भागबण्डामा सुदूरपश्चिम पाएकाले सरकारको नेतृत्व कांग्रेसले गर्ने पक्का भयो, तर मुख्यमन्त्री को हुने भन्ने अन्यौल भने यो पटक लामै समय रह्यो ।
कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक बिक्रम धामी भने दलको नेता फेरेर अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउँदा परम्परा बिग्रिने र गलत अभ्यास अरु ठाउँमा समेत हुने जोखिमका कारण अहिलेको निर्णय लिइएको बताउँछन् ।
‘दलको नेता पनि परिवर्तन गर्दा परम्परा बिग्रिने, यो कुरा रोगका रुपमा स्थापित भएर अरु प्रदेशमा फैलिने जोखिम थियो । त्यसैले अहिलेको दल नेता परिवर्तन नगर्ने र उनैलाई मुख्यमन्त्री बनाउने कुरा भएको हो’, धामीले भने ।
कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर भने शाहले राम्रोसँग काम गर्न नपाएकाले पार्टी नेतृत्वले उनैलाई पठाएर उपयुक्त निर्णय लिएको बताउँछन् ।
‘उहाँ (शाह) एकपटक मुख्यमन्त्री भइसकेको हुनाले अरुले पनि आकांक्षा राख्नु अन्यथा होइन’, बलायरले भने, ‘सभापतिज्यू पार्टी विधानअनुसार दलको नेतालाई नै मुख्यमन्त्री बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो ।’
अन्य प्रदेशमा पनि दलको नेता नै मुख्यमन्त्री भएकाले सुदूरपश्चिममा त्यही भएको उने बताए ।
मुख्यमन्त्री शाह पनि अन्य प्रदेश सभा सदस्यको आकांक्षा राख्नुलाई स्वभाविक रुपमा लिएको बताए । ‘हाम्रा १८ जना प्रदेश सभा सदस्यले नै आकांक्षा राख्नुमा अन्यथा मान्नु हुँदैन’, शाहले भने, ‘अन्तिममा सबैबीच एकता र सहमति भएर सर्वसम्मत निर्णय गरेर हामी अघि बढेका हौं । सबैलाई विश्वासमा लिएर काम गर्छु ।’
मुख्यमन्त्री शाहले शपथ लिन बाँकी छ । सुरुमै मन्त्रिपरिषदलाई पूर्णतालाई दिने गरी छलफल अघि बढाएका कारण मुख्यमन्त्रीको शपथ ग्रहण केही ढिला हुनसक्ने नेताहरु बताउँछन् ।

प्रकाशित मिति: सोमबार श्रावण २१, २०८१/Monday 08-05-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै