Close This
२०८१ कार्तिक, २ शुक्रबार

सुदूरपश्चिममा आज ‘ठूली गौरा’ मनाइँदै

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात ‘ठूली गौरा’भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । 
ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको स्थानीय हिरादेवी अवस्थीले बताइन् ।
उनले भनिने ‘गौरादेवीको आराधना ब्रतालु महिलाहरुले फाग मार्फत गर्ने गरेका छन् । गौरादेवीलाई भित्र आएर बसीदिन उनीहरुले फाग मार्फत नै आग्रह गर्ने गरेका छन् ।’
तिथी घटबढका कारण हिजोदेखि गौरा शुरु गरिएका ठाउँमा आज एकै दिन नानी गौरा र ठूली गौरा मनाइँदैछ ।
‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । साँउ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने चलन रही आएको छ । खेतबारीबाट साउँ, अपामार्ग लगायतका वनस्पतीहरुको प्रतिमूर्ती बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ । 
तागाधारी पुरुषहरुले जनेउ धारण गरे जस्तै महिलाहरुले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको छ । गौरा पर्वले महिलाको स्थानमा उच्च रहेको जनाउँछ । समाजमा पुरुष भन्दा महिलाको स्थान उच्च रहेको यो पर्वले जानकारी दिन्छ ।
यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् । नयाँ दुबधागोहरु आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रही आएको छ । 
गौरापर्वको मुख्य दिनको रुपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ । 
गौराको मुख्यदिन भोलि गौराष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । 
गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत खेल्ने चलन रही आएको छ ।

प्रकाशित मिति: आइतबार भदौ ९, २०८१/Sunday 08-25-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै