२०८१ जेठ, २ बुधबार

कथा : कुमारी

 

देवराज पाैडेल

पुरुष कामदारहरु बढी राजनीति गर्ने, अनुचित मागहरु राखी आन्दोलन गर्ने र कम्पनीलाई नै धारासायी बनाउने स्वभावका पाइएकाले हामीले महिला कामदार मात्र राखेर कम्पनी संचालन गर्न थाल्यौ। बिबाहित महिला कामदारहरुबाट पनि समय समयमा काममा अबरोध आइनै रह्यो । महिलाहरु सुत्केरी बिदामा बस्नाले कम्पनीको काममा ९८ दिनसम्म अबरोध आएपछि हामी कुमारी केटीहरुलाई मात्र कम्पनीमा काम दिने निर्णयमा पुग्यौ ं। 
हेटौडामा खुलेको कम्पनीको नयाँ शाखामा हामीले कुमारीहरुलाई मात्र सुबर्ण अबसर भनी विज्ञापन गरेका थियौ ं। हजारौ कुमारीहरुले आवेदन दिए । त्यो विज्ञापनले व्यवस्थापनमा स्नातक पढ्दै गरेकी सृजनाको पनि ध्यान खिचेछ । कामगर्दै पढाईलाई पनि निरन्तरता दिने विचारले उनले हाम्रो कम्पनीमा आवेदन दिइछन्।
हामीले लिएको छनौट परिक्षणमा उनी अब्बल निस्किइन्। उनले दिएका जवाफ र उनको सामर्थताबाट प्रभावित भएर मैले उनलाई रोजगारी दिने निर्णय गरें। नियूक्ति भएको दिनबाटै उनको नियमित उपस्थिति रह्यो । उनी समयको राम्रो परिपालक थिइन् । प्राप्त जिम्मेवारीलाई उचित समयमै निपूर्णताका साथ सम्पन्न गर्थिन् । उनी हाम्रो कम्पनीमा प्रवेश गरेदेखि नै हाम्रो कम्पनी उज्यालो भएको महसुस गरेको थिएँ मैले । कताकता उनको व्यक्तित्वले मलाई खिच्दै लगेको थियो । मनले भित्र भित्रै उनलाई सजाउन थालिसकेको थियो । छोटै समयमा उनको कार्यको उच्च मूल्याङ्कन गर्दै मैले उनलाई आफ्नो नीजि सहायकमा राख्ने निर्णय गरे ं। उनी नीजि सहायक भए पछि मेरो आधा बोझ हल्का गरिदिइन् । उनलाई आफू अगाडी पाउँदा काम गर्ने उर्जा पैदा भएको महसुस गर्न थालेको थिएँ । 
एक शुक्रवारको दिन भोलीको शनिवार कतै नयाँ ठाउँमा घुम्न जान पाए पनि हुन्थ्यो भनेर उनी समक्ष प्रस्ताव राखे ं। ” मनोज सर! सरले मकवानपुर गडी घुम्नु भएको छ ?”( उनले प्रश्न गरिन ।” छैन । म हेटौडाको लागि नयाँ नै हु ँ।कम्पनीको शुरुवाती समयमा पूर्वाधार निमार्णको कार्यव्यस्थता र व्यवस्थापकिय कार्यले गर्दा कतै घुम्न पाएको हैन् । तिमी आए पछि बल्ल कार्य बोझ कम भएको छ । यो शनिवार फुर्सत मै छु त्यसैले“( मैले उनलाई भने ।” खाना खाएर जाउँन त सर”  – उनले घुम्न जाने स्वीकृती जनाउँदै भनिन् ।
हामी त्यो शनिवार मकवानपुर गडी गयौ ं ।बाटोमा पर्ने सालक पार्क पनि डुल्यौ ं। मकवानपुर जिल्लाको ऐतिहाँसिक धरोहर मकवानपुर गडीमा हामीले घण्टौं बितायौ ं । त्यहाँबाट देखिने उत्तर तर्फका हरिया पहाडहरु र दक्षिणतर्फ देखिने समथर खेतका फाँटको दृश्यावलोकन गर्दै आफ्ना कुराहरु आदान प्रदान गरेका थियौ ं । जीवन र भोगाईका बारेमा आ–आफ्ना अनुभव र बिचारहरु साटासाट गरेका थियौं । त्यो शनिवारे घुमाई पछिका दिनबाट उनी मसंग धेरै नजिकिएकी थिइन् । म पनि उनी प्रति आकर्षित भएको थिएँ । उनको सुन्दरताले मलाई खिच्दै लग्यो । म उनी प्रति नजाँनिदो तवरले मोहित हुँदैगएको थिएँ । सुसुप्त अवस्थामा टुसाउँदै गरेको मायाले उनलाई आफ्नो हृदयमा बास बस्न निम्ता दिन थालेको थियो ।
मैले उनमा समिक्षाको आत्मा आएर बसेको देख्न थालेको थिएँ । मेरी स्वर्गवासी समिक्षाको रुपसंग उनको रुप काटीकुटी मिल्थ्यो । सृजनाको आनीबानी समेत समिक्षासंग मेल खान्थ्यो । म समिक्षालाई बिस्तारै भुल्न चाहन्थे । किन हो सृजनाको हँसाईमा समिक्षाको मुस्कान पाउँथेँ । सृजनाको हिडाईमा समिक्षाको लचकता पाउँथेँ । सृजनाको बोलीमा समिक्षाको शब्दहरु पाउँथेँ । सृजनाको हेराइमा समिक्षाको नजर पाउँथे  । सृजनाको मुस्कानमा समिक्षाको खुःशी पाउँथे  । सृजनाको व्यवहारमा समिक्षाको आभास पाउँथेँ । एक बर्ष अगाडी अस्पतालको बेडबाट नवशिशुलाई जन्म दिन नसक्दा सदाकालागि मबाट बिदा भएकी मेरी समिक्षाका संम्पूर्ण पक्षसंग मिल्दीजुल्दी केटी देख्दा म सपनामा छु कि विपनामा झै लाग्थ्यो । म मेरो उजाडिएको जीवनमा हरियाली ल्याउन सृजनाले सहयोग पु–याइरहेकी महसुस गर्दै थिएँ । समय आफ्नै गतिमा चलिरहेको थियो । हामी धेरै बर्ष पहिले देखिसंगै काम गर्नै सहकर्मी जस्तै आत्मिय र खुलस्ता हुँदै गइरहेका थियौं ।
एक दिन सृजनाले डराउँदै भनिन । (“सर ! म केही दिन बिदा बस्नुपर्ने भयो । “उनी कार्यालयमा नआउँदा खल्लो महसुस हुने भएकाले मैले सोधेँ (” किन विदा ?”म प्रिग्नेन्ट छु सर । डाक्टरले तीन दिन पछिको समय दिएको छ ।“ (शर्माउँदै उनले भनिन् । यति भन्दा उनका गाला लाजले राता भएका थिए ।  हाम्रो कम्पनीको नियम उल्लङ्घन गरेकोमा उनी भयभित देखिन्थिन् ।
” प्रिग्नेन्ट ! तिमी कुमारी हैन र ?”( मैले आश्चर्यबोधक प्रश्न गरे ँ।“अरुका नजरमा म कुमारी नै हुँ । तर मेरो भित्री आत्माले तँ कुमारी रहिनस भन्छ ।” उनले मतिर नहेरी जवाफ दिइन् । उनका कुराले मेरो मथिङ्गल तिलमिलायो । झिस्केकी होली भनेर मैले हतार हतार जिज्ञासा राखेँ (“तिमीले कैले बिबाह गरेकी थियौ?” उनी अगाडी आफ्नो कथा सुनाउँदै गइन् ।”
हजुरआमा सिकिस्तै भए पछि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । हजुरआमाको हेरबिचार गर्न भनी म निजगढबाट बस चडे । बसको ढोकाबाट  माथि उक्लिएर बसभित्र नियालेँ । बस धेरै खचाखच थियो । सिटहरु खाली थिएनन् । म सिट छैन भनेर उत्रन खोजेँ । ड्राइभरले पछाडी फर्किएर हेर्यो । उत्रनै लागेकी मलाई “ओ बैनी यहाँ बस, हेटौडा गएर त्यो सिट खाली हुन्छ“( भनेर ड्राइभरको वायाँ छेउको सिट खाली हुने आश्वासन दियो । बर्नरमा बसेको यात्रुलाई मिलेर बस्नुस् भनी मेरोलागि पनि बर्नरमा बस्ने चाँजो मिलाई दियो । हेटौडा नपुगुन्जेल म ड्राइभरसंग टाँसिएर बर्नरमा बस्न बाध्य भएँ । समय समयमा गेर बदल्दा ड्राइभरको कुहिनाले मेरो तिग्रामा घोची रहन्थ्यो । बेलाबेलामा उस्का नसालु हेराइ मेरा आँखामा आएर ठोकिन्थे । म लजाउँथेँ । उ मुस्कुराउँथे  । हेटौडा पुगेपछि सिट खाली भयो । पूर्व जानकारी अनुरुप म वर्नर बायाँको अगिल्लो खाली सिटमा गएर बसे । म जुन सिटमा थिएँ,त्यसको बाहिरी भागमा लुकिङ्ग ग्लास थियो । लुकिङ्ग ग्लास हेर्ने निहुँमा त्यो  ड्राइभर मलाई बारम्बार हेरिरहन्थ्यो । उस्को हेराइमा एक किसिमको सम्मोहन थियो । एक चोटी उस्का चोर आँखाले  मेरो छातीतर्फ नियाल्दै थियो । अगाडीबाट बत्तिएर आएको मोटरसाइकल झन्डै बसभित्र छिरेन । त्यसपछि उ अलि सम्माल्लियो । गाडी बसामाढी कटेपछि उस्ले बोल्न शुरु गर्यो ।
“कहाँ हिडेकी बहिनी ?”। मैले भरतपुरसम्म भने पछि किन भनेर पनि सोध्यो । म सोझी मान्छे अस्पताल हिडेको भनिदिएँ । लोथर पुगेपछि खाजा खान गाडी राक्यो । म खाजा खान बसेको टेबलमा आएर उ पनि बस्यो । हामीले संगै खाजा खाँयौ ं ।मैले खाएको खाजाको पैसा पनि कन्टक्टरलाई तिर्न लगायो । मैले हतार हतार आफ्नो पैसा तिर्न खोजेँ । काउन्टरमा दिन लागेको मेरो पैसा खोसेर मेरो पर्समा हालिदियो । बस अगाडी बढ्यो । गाडी भरतपुर पुगेपछि म अस्पताल चौकमा झरे । हतारिदै अस्पतालतर्फ छिटो छिटो पाइला बडाएँ । अस्पताल पुगेर हजुरआमालाई राखेको बेड खोजेँ । हजुरआमाको फोक्सोमा पानी जमेको रहेछ । म उहाँको सेवामा जुटेँ।
अस्पताल पुगेको त्यो रात बालाई पालो दिएँ । बा धेरै दिन देखि अनिदो हुनुहुन्थ्यो । बालाई सुत्न आफन्तकोमा पठाएर म हजुरआमाको साथी बसेँ । राती नौ बजे हजुरआमालाई औषधि खुवाएर सुत्न आग्रह गरेँ । हजुरआमा सुते पछि खाना खान क्यानन्टिनमा झरेँ । क्यानटिनको खाना त्यति मिठो लागेन । थोरै खाना खाएर बिल तिर्न काउन्टरमा गएँ । पाँच सयको नोट झिकेर काउन्टरमा दिन लाग्दा कसैले पछाडीबाट मेरो पाँच सयको नोट फुत्त तान्यो । झसङ्ग भएर पछाडी फर्किएर हेरे  । उहि दिउँसो आएको बसको ड्राइभर रहेछ ।म तिर्छु । मैले पनि यहिँ खाना खाएको भन्दै उसले हजारको नोट दियो र पाँच सय मेरो हातमा थमायो  । म के भन्नु न के गर्नु भएँ ।
“कोठामा एक्लै छु । खाना बनाउन अल्छी लाग्छ । दिनभरी गाडी चलायो थाकिन्छ । यहाँ खाना खायो अनि गएर पल्टीयो । बिहान झिसमिसे देखि नै गाडीको स्टेरिङ्ग समात्यो । दिन भरी स्टेरिङ्ग बटारिरह्यो । एक दिन भरतपुर त अर्काे दिन धरानको बास हुन्छ ।डेरा यहि नजिकै छ।“( क्यान्टिनबाट बाहिरिदै गर्दा उस्ले आफ्नो बेलिबिस्तार लगाउँदै मेरोपछि लाग्यो । म पनि तिम्रो हजुरआमालाई हेर्छु नी भन्दै हाम्री हजुरआमा सुतेको क्याविनसम्म आयो ।
हजुरआमाका आँखा लोलाएका रहेछन् । हजुरआमालाई बिउँझाउन चाहेन ्।उ धेरै बेरसम्म मसंग  गफिएर बस्यो । एघार बजेतिर उ अस्पतालबाट बाहिरियो । भोली पल्ट म आफन्तकोमा सुत्न गएँ । बाले हजुरआमालाई कुर्नु भयो । पर्सी पल्ट मेरो कुर्ने पालो थियो । बा आफन्तकोमा सुत्न जानु भयो । बा गए पछि हजुरआमालाई औषधि दिएर म क्यान्टिनमा खान गएँ । खाना मगाउँदै थिएँ।” एक्लै खाने हो? हामी पनि भोकाएर आएका छौ।“( भन्दै उहि ड्राइभर क्यान्टिनमा देखा पर्यो । त्यो रात पनि हामीलेसंगै बसेर खाना खायौं । खाना खाएर अस्पतालको क्याविनतर्फ आउँदा उ पनि पछि पछि आयो।
हजुरआमाको क्याविन बाहिर प्यासेजमा स्टीलको मेच राखिएको थियो। मलाई केहि बेर त्यहि चिसो मेचमा राखेर तातो कुरामा भुलाउँदै भन्यो(” तिमीलाई छाडेर अस्ती कोठामा गए पछि मलाई निन्द्रै लागेन । तिम्रो अनुहार मात्र आँखामा नाचिरह्यो । तिमीले बोलेका सुमधुर शब्दहरु मात्र कानमा गुन्जिरहे । यो मनले तिमीलाई साथी बाना भन्छ । के म तिम्रो साथी बन्न सक्छु ? मलाई  ड्राइभर सोचेकी हौली । त्यो मेरो आफ्नै गाडी हो । अहिले ड्राइभरकी श्रीमती बिरामी भएकोले उ घर गएको छ । त्यसैले केही दिनलाई काम चलाएको हुँ । मैले पनि ब्याचलर गरेको छु । मास्टर पढन काठमाण्डौं जाँदैछु । कलेजमा कति केटी साथीहरु देखेँ तर तिमी मेरो आँखामा नहट्ने गरी बस्यौ । किन किन तिम्रो व्यक्तित्वले तिमी समिप खिचिरहेझै लाग्छ । मलाई के भयो कुन्नी सपनी विपनी जुनसुकै समयमा तिमीलाई नै देखिरहन्छु । यो मनले कल्पनामा हाम्रो सुन्दर संसारको स्वप्निल महल ठड्याउँछ । दिमागमा नलिउँ भन्छु तर तिमी मन मस्तिष्कमा नाचिदिन्छेउ । तिमी नै भन म के गरु ?”
मेरो कुरकुरे बैंस बोकेको मनले उस्का ती मिठा कुरा सोह्रैआना पत्याएछ । मेरो यौवनको फक्रदो फूलको सुवासले उ लठ्ठिएको थियो भने भ्रमराले रस स्वादन गर्दा फूल जसरी रोमान्चित हुन्छ त्यसरी नै म उस्का कुराबाट रोमान्चित हुँदै गएछु । राती एक बजेसम्म आकास पतालका कुरा गरेर उस्ले लठ्ठ पार्यो मलाई । नर्सले हजुरआमाले खोज्नु भयो भनेर संझाए पछि म झसङ्ग भएर उठे । उ एक बजे राती बिदा भयो । अर्काे एक दिनपछि हर्लिस र फलफूल बोकेर आयो र घण्टौ बसेर मायाको जाल फालेर गयो । यसरी दश दिनको अस्पताल बसाइमा उस्ले पाँच दिन भेट गर्यो । त्यहि पाँचवटा भेटमा उस्ले माया जालमा फसायो । सफेराले बिन बजाएर सर्प लठ्याए झै म उस्का मायालु बोलीबाट लठ्ठिएँ । दश दिनमै उसंग माया बस्यो । हजुरआमालाई डिस्चार्ज गर्ने दिन म अस्पतालबाटै उसंग भागेँ ।
उस्ले मलाई डेरामा लगेर राख्यो । शुरुका दिनहरुमा उसले धेरै माया बर्सायो । म छुट्टै दुनियाँमा हराएँ । उस्कै मायामा भुलेर एक महिना बिताएँ । घर परीवार, बा, आमा, हजुरआमा कति पिरोल्लिएका होलान मलाई केही मतलव नै भएन । एक महिना पछि मलाई उसको घर हेर्ने ईच्छा भयो । सासु ससुरा भेटी आर्शिबाद लिने बिचार आयो । मैले उसंग घर जाने  मनसाय व्यक्त गरेँ । मलाई उसले उसको घर ठोरी लग्यो । उसको घर पुगेको दिन म छाङ्गाबाट खसे झै भएँ । यो पृथ्वी फनफनी घुमे झै भयो ।उसको त घरमा श्रीमती र एक छोरो पनि रहेछन् । मेरो होस हवास नै उड्यो । नौ नाडी गलेर आयो । क्वाँ क्वाँ डाँको छाडेर रुएँ । किन ढाँट्यौ ? मैले उस्लाई रुँदै सोधेँ ।” तिम्रो रुपले मलाई मोहित पार्यो । नढाँटेको भए तिमी मेरो पछि लाग्ने थिइनौ । जे भयो बिर्सिदेउ । मिलेर बसौं । चिन्ता नलेउ“( भनेर फकायो । भोली पल्ट मलाई ठारी मै छाडी उ भरतपुर फर्कियो ।
उ हिँडे पछि सौता र सासु मिलेर मलाई लछार पछार पारे । नानाथरीका आमा चकारी गाली गरे । सौता माथि ठूलो भाग खान आएकी राँडी लौ खा भन्दै सासु कपाल भुत्लाएर समाउने सौता लौरोले बर्साउने गरेर थिलथिलो हुने गरी कुटे ।खाना समेत दिएनन् ।त्यो लोग्ने भनाउँदो पनि असली ड्राइभर रहेछ । उसले दश कक्षा सम्म मात्र पढेको रहेछ। उसले भनेका सबै कुरा झुटा रहेछन् । 
मलाई त्यो फटाहा  लोग्नेसंग घरजम हुन्छ जस्तो लागेन । त्यो सौता भएको घरमा बस्ने वातावरण पनि रहेन । त्यो घरमा बस्न नसक्ने बुझि सदाको लागि त्यो घर छाडेर म निजगढ आएँ । निजगढमा मेरो दाईलाई म अन्यायमा परेको कुरा सुनाएँ । दाईले साथी बटुलेछ । निजगढ चौकमा गाडी रोकेर त्यस ड्राइभरलाई भकुरेछन् । अनि उसले धरान नारायणगढ  रुटमा गाडी चलाउनै छाड्यो । अनि मैले पनि उसलाई छाडिदिएँ । मलाई निजगढ बसिरहन पनि मन लागेन् । पढाईलाई निरन्तरता दिन्छु भनि म हेटौडा आएँ । विविएस. प्रथम बर्षमा नाम लेखाएँ  । पोइला हिँडेकी म छोरीलाई बासंग पढाई खर्च माग्न असजिलो लाग्यो । अनि म रोजगारको खोजीमा थिएँ ।
तपाइको कम्पनीमा कुमारीलाई रोजगारको अवसर भन्ने बिज्ञापन पढन पाए पछि मैले मेरो सिन्धुर पुछेँ । पोते कर्रा खोलामा फालिदिएँ । लोग्ने त आफ्नो हुनसकेन भने उसको लागि के सिन्धुर पोते लाउँ । श्रीमान नभएकाले म कुमारी सो सरह भएँ । त्यसैले हिम्मत गरेर आवेदन दिएँ । तर मेरो पेटमा ड्राइभरले निसानी छाडेको रहेछ, मलाई हेक्का भएन । डेड महिना पछि शंका लागेको थियो । जागिर भैसकेकाले बढ्दै गएको पेटलाई ढाकछोप गर्न तर्फ लागे । तपाई मेरो नजिक हुँदै जानु भयो । एउटा कम्पनीको मेनेजर कामदारको नजिक हुँदा म जस्ती एउटा श्रीमान त्यागेकी व्यक्तिको लागि सुअवसर नै ठानी आफ्नो भेद खोल्न चाँहिन । जाडो महिना नजिकिएकाले मोटा ज्याकेट लगाएँ जस्ले बढदै गएको पेट ढाक्न मद्दत ग–यो । तर डाक्टरले दिएको समयले नेटो काट्न लागेकाले  आज बिदा माग्न बाध्य भएँ । अब लुकाउन सम्भब छैन।“( उनले रुन्चे स्वरमा भनिन्। “कम्पनीको मूल्य मान्यता विपरित कम्पनीलाई समेत गुमराहमा राखेर आवेदन दिएकाले तिमीलाई अवकासै गर्नुपर्ने हो । कम्पनीको काममा अन्ठान्नब्बे दिनसम्म बाधापर्ने भएकाले बिबाहित महिलालाई हामीले राख्न नचाहेको हो । त्यसैले तिम्रो विदा म स्वीकृत गर्न असमर्थ छु।“( मैले भने
“तपाई आमा बिनाको छोरो हो ? तपाईकी आमा पनि एक समयमा कुमारी नै हुनुहुन्थ्यो । तपाई तिनै आमाको छोरो हुनु हो । आफ्ना मजदुरहरुलाई कुमारी नै बस्न तपाईको कम्पनीले  अप्रत्यक्ष रुपमा जुन दबाब दिइएको छ त्यो महिला अधिकार विपरित छ । एउटी कुमारीको उचित उमेरमा बिबाह गर्ने अधिकार,बिबाहित महिलाले सन्तान जन्माउने अधिकार प्राकृत अधिकार हो । तपाईको कम्पनीले सृष्टीको नियमलाई नै चुनौती दिदै बिबाह पनि नगर,सन्तान पनि नजन्माओ भन्छ । हरेक महिलाले सन्तान नजन्माउने हो भने तपाई जस्ता पुरुषहरु राँडै बस्नुपर्ने हुन्छ । के तपाईको भोली सन्तान हुँदैन ? कम्पनीको उत्पादनमा अबरोध आउँछ भनेर एउटी नारीको नैसर्गीक अधिकार हनन् गर्न पाउँदैन कम्पनीले । के कम्पनी कानूनमा महिला कामदारलाई सुत्केरी बिदा दिन नमिल्ने भन्ने व्यवस्था छ र? मैले विदा पाँइन भने कम्पनी रजिष्ट्रारको कार्यालयमा तपाईको कम्पनीको बिरुद्ध उजुर गर्नेछु । यदि विदा स्वीकृत गर्नु हुन्छ भने ठीकै छ हैन भने राजीनामा पत्र स्वीकृत गर्नुस् भनेर दुबै पत्र मेरो टेवलमा बजारिन् र बाटो लागिन । उनका कुराले म प्रभावित भएँ । वास्तवमा मजदुरहरुलाई अन्याय भएको थियो ।  
मैले अपर्झट भोली पल्टै संचालक समितिको बैठक बोलाएँ । उनको समस्या उपर छलफल  चल्यो । कानूनका कुरा,महिला अधिकारका कुरा, बालअधिकारका कुरा,मजदुर अधिकारका कुरा,सृष्टीका कुरा माथि लामो छलफल र डिभेट चल्यो । निचोडमा उनको बिदा स्वीकृत गर्ने र बिबाहित महिलालाई पनि कम्पनीमा अवसर दिने भन्ने संचालक समितिले निर्णय गर्यो ।
उनी दुई दिन पछि अस्पतालमा भर्ना भईन । डिष्चार्ज पछि नव शिशुसहित उनलाई मैले मेरै क्वाटरमा लिएर आएँ । त्यसपछि ................................
लालबन्दीः४, सर्लाही

 

प्रकाशित मिति: शनिबार भदौ २७, २०७७/Saturday 09-12-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै