२०८१ बैशाख, १७ सोमबार

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

महिला टी–२० सिरिजको फाइनलमा नेपालले हङकङलाई १३ रनले पराजित गरेको छ । नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक भएपछि खेलको डकवर्थ लुइस पद्दतिअनुसार विजेता घोषणा गरिएको हो ।
टस हारेर ब्याटिङ गरेको हङकङले नेपाललाई १ सय २ रनको लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर हङकङले १०१ रन बनाउन सफल भयो । जवाफी ब्याटिङमा आएको नेपालले ५.३ ओभरमात्रै खेल्न पायो । पानीले खेल स्थगित भएको थियो । नेपालले परिमार्जित २५ रनको लक्ष्य पाएको थियो । जसमा ५.३ ओभरमा १ विकेटसहित ३७ रन बनाएपछि नेपालले १३ रनको विजय हासिल गर्न सफल भएको मलेसियन क्रिकेट संघले जनाएको छ ।
यो जित नै नेपाली राष्ट्रिय महिला टोलीको पहिलो उपाधि हो । पहिला ब्याटिङ गरेको हङकङका लागि याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले १÷१ विकेट लिइन् ।
यस्तै नेपालको तर्फबाट सीता रानामगरले १३ र इन्दु बर्माले १९ रन बनाउन सफल भए । काजल श्रेष्ठ शून्य रनमा एलबीडब्लु आउट हुन पुगिन् ।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो । यस्तै हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् ।
आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।

प्रकाशित मिति: शनिबार भदौ ९, २०८०/Saturday 08-26-2023

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै