२०८२ जेठ, २२ बुधबार

सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित, दार्चुलामा पनि भोलिदेखि सार्वजनिक यातायात ठप्प हुने 

सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरू आन्दोलित भएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरूले आइतवारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका हुन् । 
यातायात व्यवसायीहरूले जेठ १९ गते अर्थात् सोमवारदेखि सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प पार्ने घोषणा समेत गरेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । 
दार्चुलाबाट लामो दुरीको लागि छुटने कालो नम्बर प्लेट भएका सम्पुण सवारी साधनहरु भोलीबाट अनिश्चितकालका लागि बन्द हुने महाकाली यातायात काउन्टर दार्चुलाका प्रमुख बिरेन्द्र बहादुर  कुवँरले जानकारी दिनुभयो । दार्चुलाबाट काठमाडौँ चल्ने सवारीहरु आजैबाट तथा तराइका जिल्लाहरुमा चल्ने सवारीहरु भोली विहान ६ बजेबाट बन्द हुने उहाँले बताउनुभयो ।
यसअघि नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा सुदूरपश्चिममा रहेका विभिन्न यातायात समितिले धनगढीमा पत्रकार सम्मेलन गर्दै आफूहरुका माग सुनुवाइ नभए जेठ १९ गतेदेखि सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका थिए । सरकारी तथा निजी यातायात भने सञ्चालन हुन दिने समितीले जनाएको छ। यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितीले सरकारलाई सात बुँदे ज्ञापन पत्र समेत बुझाएको छ ।
यातायात समितिहरुको निर्णयमा ऐकेबद्धता जनाउदै दार्चुलामा पनी लामो दुरी (दार्चुला देखि काठमाडौँ) चल्ने सवारी साधनहरु आजबाट तथा अतरिया महेन्द्रनगर धनगढी सम्म चल्ने यातायातका साधनहरु भोली बिहान ६ बजेबाट बन्द रहने दार्चुला काउन्टरका प्रमुख कुवँरले बताउनुभएको छ ।नेपाल यातायात व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले यातायात व्यवसायीहरूले आज कालो पट्टी र सवारीसाधनमा कालो झण्डा लगाउने बताए । उनले निजि सवारी साधनले सार्वजनिक सवारी साधन सरह सञ्चालन गर्न पाउने व्यवस्थाको आफूहरूले विरोध गरेको बताउनुहुँदै सार्वजनिक सवारी साधन सञ्चालनको विधि र आयातलगायतका विषयमा प्रदेश सरकारको ठोस नीति के हो ? भन्ने प्रश्न गरेका छन् । 
गण्डकी प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरू कार्यान्वयन हुनुपर्ने माग यातायात व्यवसायीहरूको छ । 
माग पूरा नभए सार्वजनिक यातायात पूर्णरूपमा ठप्प पार्ने यातायात व्यवसायीहरूले घोषणा गरेका छन् । राज्यलाई लाखौँ रुपियाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धराशायी बनाउन खोजेको आरोप उनीहरूको छ । 
 

प्रकाशित मिति: आइतबार जेठ १९, २०८२/Sunday 06-01-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै