२०८१ बैशाख, १७ सोमबार

रसुवागढी र तातोपानी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक

काठमाडौं, १५ माघ । चीनमा कोरोना भाइरसको संक्रमणले भयावह बन्दै गएपछि सरकारले रसुवागढी–केरुङ र तातोपानी–खासा नाका हुँदै नेपाल भित्रिने चिनियाँ पर्यटकलाई प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गृह मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै अब चिनियाँ पर्यटक रसुवागढी र तातोपानी नाकाबाट नेपाल आउजाउ गर्न पाउने छैनन् ।

‘चिनियाँ पर्यटकलाई रसुवागढी र तातोपानी हुँदै नेपाल प्रवेशमा १५ दिनका लागि रोक लगाइएको छ । अब चिनियाँ पर्यटक ती नाकाबाट नेपाल आउन र फर्कन पाउने छैनन्,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने ।

१५ दिनपछि चीनमा कोराना भाइरस महामारीको अवस्था उस्तै रहे पुनः अर्को निर्णय गरिने पनि उनले बताएका छन् । रसुवागढी र तातोपानी नाकाबाट प्रवेशमा रोक लगाइएको निर्णयबारे चिनियाँ पक्षलाई जानकारी दिइसकिएको उनले बताएका छन् ।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने चिनियाँ पर्यटकलाई भने नेपाल प्रवेशमा कुनै रोक नलगाइएको उनले बताएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ मा नेपाल आएका कूल ११ लाख ९७ हजार १ सय ९१ पर्यटकमध्ये १ लाख ६९ हजार ५ सय ४३ चिनियाँ रहेका थिए । त्यस वर्ष नेपाल आउने पर्यटकमा भारतपछि दोस्रो ठूलो संख्या चिनियाँको रहेको थियो । गत वर्ष रसुवागढी नाकाबाट मात्र २६ हजार ७ सय १३ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए ।

विभागका अनुसार सन् २०१९ को जनवारीमा ८३४, फेब्रुअरीमा ४३८, मार्चमा ६८०, अप्रिलमा एक हजार ४७४, मेमा ३ हजार ६९३, जुनमा ५ हजार ३४५, जुलाईमा ३ हजार ८७८, अगस्टमा ४ हजार ७१२, सेप्टेम्बरमा एक हजार ९७३, अक्टोबरमा एक हजार ८९१, नोभेम्बरमा एक हजार १८६ र डिसेम्बरमा ६०९ जना चिनियाँ पर्यटक रसुवागढी नाकाबाट नेपाल भित्रिएको तथ्याङ्ग छ ।

सन् २०१९ डिसेम्बरको अन्तिम साता कोरोना भाइरस पहिलो पटक चीनको हुबेई प्रान्तको राजधानी उहानमा देखापरेको थियो । त्यसयता बुधबार बिहानसम्म कोरोना भाइरसका कारण चीनमा १३२ जनाको मृत्यु भइसकेको छ भने ६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

कोरोना भाइरसका कारण ६ करोडभन्दा बढी चिनियाँ प्रभावित भएका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढीको मृत्यु उहानमा भएको छ । उहानमा १२० जना नेपाली छन् । तीमध्ये ४० जना जति बिदा मनाउन नेपाल आएको र बाँकी ८० जना उहानमै छन्। उहानलाई अहिले चीन सरकारले ‘शिल्ड’ गरेर राखेको छ । उहानमा हवाई उडान र सार्वजनिक यातायात सबै बन्द गरिएको छ ।

चीनको उहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका १५ भन्दा बढी देशमा देखिएको छ । हालसम्म थाइल्यान्ड, अमेरिका, अस्ट्रेलिया, सिंगापुर, ताइवान, मलेसिया, दक्षिण कोरिया, जापान, फ्रान्स, भियतनाम, नेपाल, क्यानडा, कम्बोडिया, श्रीलंका, हङकङ र जर्मनीमा कोरोना भाइरस संक्रमण भएका बिरामी भेटिएका छन् ।

प्रकाशित मिति: बुधबार माघ १५, २०७६/Wednesday 01-29-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै