२०८२ बैशाख, २६ शुक्रबार

पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।
एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो । अस्पतालले निधन भएको घोषणा गरेको नेपालका भाइ तथा एमाले नेता समिर नेपालले बताए ।
छातीमा गम्भीर संक्रमण भएको र गम्भीर अवस्थामा नेता नेपाल अस्पताल लगिएको अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले बताए । नेता नेपालको अति सघन कक्षा (सिसियु) मा उपचार भएको थियो । उनको उपचार डाक्टर सुरज गुप्तासहितको टोलीले गरिरहेकोमा भर्खरै निधन भएको अस्पताल प्रशासनले जनायो ।
उनका भाइ समीरका अनुसार नेता नेपालको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।
उनको जन्म २०१० साल पुस २८ गते भोजपुरको पोखरे गाउँमा भएको थियो। उनी पछिल्लो समय काठमाडौंको गोठाटारमा बस्दै आएका थिए ।
नेता नेपाल नेपालका नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि उनी शिक्षामन्त्री पनि भएका थिए । उनले आफ्नो राजनीतिक जीवनमा सूचना तथा सञ्चार, जलस्रोत र स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।
नेपालले २०६४ सालमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । एमालेमा कडा मिजासका बौद्धिक नेताका रुपमा उनी परिचित थिए । उनले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यका रुपमा राजनीति थालेका थिए ।
काठमाडौंमा भएको एमालेको नवौँ महाधिवेशनपछि पार्टीबाट बाहिर पारिएका उनी पार्किन्सन्स रोगबाट पीडित थिए । 
साहित्यमा सञ्जय थापाको परिचय बनाएका उनले एमालेमा सक्रिय हुन्जेल गुटको विरोध गरिरहे । गुटबन्दीले दास जन्माने बताउने उनी त्यहीकारण किनारामा परे । एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओली समूहबाट उपाध्यक्षमा उठेर पराजित भए । बुटवलमा भएको आठौँ महाधिवेशनमा पनि उनी महासचिवमा पराजित भएका थिए ।
एमाले विभाजित भएसँगै उनी राजनीतिबाट निष्क्रिय थिए । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले फकाउन खोजे पनि उनी पार्टी विभाजनको विपक्षमा उभिइरहे ।
नेकपा (माले) स्थापनापछि कठोर भूमिगतकालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गरेका थिए । उनी चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् ।

उनले पार्टी कामकै सिलसिलामा इलाममा जिम्मेवारी सम्हाल्दा त्यहीँकी झुमा देवानसँग वैवाहिक जीवन शुरु गरेका हुन् ।
साहित्य तर्फ उपन्यास, कथा, नियात्रा र गीत लेखन, गायन उनका मुख्य विधा थिए । माले स्थापनाकालका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उनको उपन्यास ‘देउमाइको किनार’ पछि भिडियो चलचित्रका रुपमा आएको थियो । यसबाहेक उनका अनगिन्ती साहित्य सामाग्री बजारमा उपलब्ध छन् । कवि मन्जुल (मेघराज नेपाल) उनका सहोदर दाइ हुन् ।
उनी माक्र्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्य हुन् । एमाले मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादक रहेका उनले दृष्टि र छलफल साप्ताहिकको सम्पादकको जिम्मेवारी पनि बहन गरे ।
नेपालमा पहिलोपटक सरकारी लगानीमा कालिगण्डकी जलविद्युत परियोजनाको थालनी उनको कार्यकालमा भएको हो ।

 

प्रकाशित मिति: मंगलबार बैशाख २३, २०८२/Tuesday 05-06-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै