२०८२ बैशाख, २६ शुक्रबार

झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट

झापाको भद्रपुरस्थित भेटेरिनरी अस्पतालका कर्मचारीबीचमा कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाका दुई कर्मचारीबीच विवाद हुँदा कुटाकुट भएको हो ।
सोमबार दिउँसो कार्यालयमा सातौं तहका पशु चिकित्सक सुजन राईले सोही कार्यालयका पाँचौं तहका कर्मचारी रोहित महतमाथि हातपात गरेका छन् । उनीहरुका दुईबीचको झगडाका क्रममा अर्का कर्मचारी घाइते भएका छन् ।
करिब २ मिनेट १० सेकेन्ड लामो उक्त भिडियो फुटेजमा राईले हातमा हथौडा बोकेर महतलाई धम्क्याउँदै औंला ठड्याएको र लगत्तै मुक्का प्रहार गरेको स्पष्ट देखिन्छ । झगडा छुट्ट्याउन खोज्दा चौथो तहका कर्मचारी दिवाकर सुनरैत पनि गम्भीर घाइते भएका छन् । सुनरैतले राईको हातबाट मार्तल खोस्न खोज्दा उनकै टाउकोमा मार्तल लागेको छ ।
कुटाई खाएका महतले लिक्युड नाइट्रोजन र सिमेनको विषयमा विवाद भएको बताए ।
उनले सिमेन संरक्षण तथा रेकर्ड राख्ने जिम्मेवारी पाएको बताए । उनले भने, ‘राई सरले पटकपटक यी सामग्री लैजानुभयो, तर प्रतिवेदन दिनुभएन । सिमेनको करिब ५०० रुपैयाँ पनि बुझाउनुभएको थिएन ।’

उनले थपे, ‘सोमबार फेरि उहाँले ती सामग्री माग्नुभयो, मैले पहिलेको प्रतिवेदन र बक्यौता रकम नबुझाएसम्म दिन नसकिने बताएपछि विवाद सुरु भएको हो ।’
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कर्मचारीका बीचमा मुनमुटाव हुँदा घटना भएको बताए ।
उनले दुवैलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा बोलाएर छलफल गराएको बताए । उनले भने, ‘मैले भिडियो हेरेको छैन । गुनासो आएपछि दुवैलाई बोलाएर सोधे । उनीहरुले मिल्छौं भन्नुभएको छ ।

 

प्रकाशित मिति: मंगलबार बैशाख २३, २०८२/Tuesday 05-06-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै