२०८२ बैशाख, २६ शुक्रबार

भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन

पाली भूभागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ । विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ । 
स्थानिय नागरिकले पटकपटक दबाबको प्रयास भएपनि सरकार यसबारे अहिलेसम्म मौन देखिएको भन्दै एमाले दार्चुलाले संवाद मार्फत नेपाली भू भागमा भारतीय पक्षको एकतर्फी तटबन्ध निर्माण कार्य रोक्न माग गरेको हो । छिमेकीले बलमिच्याई पूर्वक निर्माण गरिरहने तर नेपाल सरकारले मौनता देखाइ रहने दुःखद, लज्जास्पद र विडम्बनापूर्ण स्थितिले दार्चुला बासि न्यायप्रेमी जनताको मनमा चिसो पसेको छ, एमाले दार्चुलाले प्रमुख जिल्ला अधिकारीमार्फत आज परराष्ट्र मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ । विगत लामो समयदेखी सीमा क्षेत्रमा भारतले गलत प्रकारको हर्कत देखाइरहेको एमालेको ठहर छ । महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको क्षेत्रमा अन्तर्राष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण भइरहेकोले उक्त कार्य तत्काल रोकिनुपर्ने एमालेको माग गरेको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो ।
तटबन्धको संरचना निर्माण वारे प्राविधिक रुपमा अध्ययन विश्लेषण गर्ने र जिल्ला प्रशासन कार्यालय लगायत सबै सरकारी निकायलाई ब्रिफिङ गर्ने, समन्वय गर्ने दायित्व रहेको महाकाली नदी नियन्त्रण आयोजना नै अहिले अस्तित्वमा छैन, ज्ञापनपत्रमा भनिएको छ, दार्चुलाको खलंगामा रहेको यो आयोजना कार्यालय खारेज गरेर यसको स्थानमा बैतडीको पाटनमा सिँचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालय राखिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरु कार्यक्षेत्र रहेको उक्त कार्यालयले महाकालीको अवस्था र आवश्यकता बारे समय दिन सकेको छैन ।
भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको क्षेत्रभित्र व्यक्तिका व्यक्तिगत लालपुर्जा भएको तथा सरकारी कार्यालयको जग्गा समेत रहेकोले तत्काल परराष्ट्र मन्त्रालय मार्फत समन्वय गरी दुवै देशका संयुक्त नापी टोली र प्राविधिक टोली खटाई समस्या समाधानका लागि सरकार समक्ष अपिल गर्दछौं एमाले दार्चुलाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । साथै दुवै देशको नापी र प्राविधिक टोलीले क्षेत्र निर्धारण नगरे सम्म निर्माण कार्य रोक्नका लागी आवश्यक पहल गर्न समेत अनुरोध गर्दै समस्या समाधान नभएमा आन्दोलनका थप कार्यकम अगाडि बढाईने व्यहोरा जानकारी गराउदै सांकेतिक रुपमा परराष्ट्र मन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो ।
भारतले निर्माण गरिरहेको तटबन्धका सम्बन्धमा तत्काल कूटनीतिक पहल थाल्न आफूले पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी अनिल  पौडेलले बताए । उनले आफू निरन्तर भारतीय समकक्षीहरूसँग सम्पर्कमा रहेको बताउँदै निर्माण रोक्न आग्रह गरेको बताए ।

 

प्रकाशित मिति: शनिबार बैशाख २०, २०८२/Saturday 05-03-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै