२०८२ बैशाख, २६ शुक्रबार

दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने 

दार्चुला जिल्लामा रेबिज रोग विरुद्धको खोप (ARV) अभाव भएको छ । जिल्ला अस्पताल दार्चुला लगायत गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा रेबिज रोग विरुद्धको खोप अभाव हो ।
जिल्लाका स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा प्रदान गर्ने खोप मध्यको रेबिज विरुद्धको खोप एक हप्तादेखी अभाव भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।  
सोमबार जिल्ला अस्पताल दार्चुलाले सार्वजनिक सुचना जारी गर्दै प्रदेश आपुर्ती व्यवस्थापन केन्द्र धनगढीबाट खोप प्राप्त नभएकाले अर्को व्यवस्था नभए सम्मका लागि सेवाग्राहिलाई (एआरभी) भ्याक्सिन निशुल्क उपलब्ध गराउन नसकिने जानकारी दिएको छ । सुचनामा विरामी आफैले अन्यत्रबाट उक्त भ्याक्सिन खरिद गरी ल्याएमा लगाउने व्यवस्था गरिने भनिएको छ । 
प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको उक्त खोप हाल सो कार्यालय बाट प्राप्त नभएकोले सेवा बन्द गरिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर संजिव श्रेष्ठले जानकारी दिनुभयो ।
दैनिक रुपमा आवश्यक भइरहने रेबिज रोग विरुद्धको खोप नहुँदा सर्वसाधारण नागरिक मर्कामा परेका छन् ।

प्रकाशित मिति: मंगलबार बैशाख २३, २०८२/Tuesday 05-06-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै