२०८१ बैशाख, १७ सोमबार

वडा कार्यालय पुग्नै पाँच घण्टा, सेवा लिनै स्थानीयलाई सास्ती

मार्मा गाउँपालिका १ को विकट वस्ती, लोया, दह, तोलीमाण्डौबाट वडा कार्यालय पुग्नै पाँच घण्टा लाग्दा यहाँका नागरिकलाई सेवा लिनै सास्ती हुने गरेको छ । स्थानीय सरकार बनेपनि वडा कार्यालय पायक ठाउँमा नहुँदा स्थानीयले वडा कार्यालय पुग्नै पाँच घण्टा हिड्नुपर्ने बाध्यता छ । 
साविकको गाविस हुँदा निर्माण गरिएको भवन पारिबगरमै वडा कार्यालय कायम गरिएपछि अहिले पनि यहाँका विकट क्षेत्रका नागरिकलाई सेवा लिनै समस्या भएको गुनासो गरेका छन् । जेष्ठ नागरिक सञ्जालका अध्यक्ष जसुवा बोहराका अनुसार घरबाट वडा कार्यालय पुग्न पाँच घण्टा र फर्किदा ५ घण्टा गर्दा १० घण्टा एउटा कामको लागि समय वित्छ । 
वडा कार्यालय एकातिर र वस्ती अर्कैतिर हुँदा यहाँका तीन वटा गाउँले बढि समस्या भोगेका छन् । घोल्जरबाटै वडा कार्यालय पुग्न तीन घण्टा बढि समय लाग्छ । त्यो भन्दा माथिको वस्तीको लागि वडा कार्यालय आउनु पर्यो दिनभर समय वित्छ । 
विरामी हुँदा पनि विगतमा वडा कार्यालय नजिकैको स्वास्थ्य चौकी जुडेमा ल्याउनु पथ्र्यो । अहिले घोल्जरमा गाउँपालिकालले स्वास्थ्य केन्द्र खोलेपछि थोरै राहत भएको छ । बोहराले सुनाउनु भयो । अरु सेवा सुविधा पाउन त यहाँको वस्तीको लागि अहिले पनि विकट छ । 
‘विगतमा पनि सरकारी सेवा लिन समस्या भोग्नु पर्यो,’ स्थानीय डम्मरसिह धामीले भन्नुभयो, ‘अहिले पनि सेवाको लागि घण्टौ हिड्नुपर्ने बाध्यता हटेको छैन् ।’ सिंहदरबारको अधिकार गाउँ गाउँमा भने पनि यो क्षेत्रका नागरिकले अहिले पनि उस्तै समस्या झेल्नुपरेको छ । सामान्य सूचना त गाउँसम्म पुग्दै पुग्दैन् । 
विटक क्षेत्र भएका कारण खाद्यान्न देखि दैनिक उपभोग्य ढुवानी महंगो पर्ने गरेको छ । यहाँ उत्पादन हुने तरकारीहरु बजारसम्म विक्री गर्न समस्या हने गरेको छ ।  
अहिले विकट वस्ती जोड्ने गरी सडक निर्माणका काम भइरहेको वडा नम्बर १ का वडाअध्यक्ष विरेन्द्रसिह बोहराले जानकारी दिनुभयो । भूगोल र जनसंख्याको हिसाबले दुई वटा वडा बनाउन मिल्ने हो, तर त्यति बेला ध्यान गएन् । यो वडामा झण्डै चार हजार बढि जनसंख्या रहेको छ। 
अहिले साविककै गाविस भवनमा वडा कार्यालय कायम गरिदा माथिल्लो भेगका स्थानीयले समस्या झेलेका छन् ।
हामीलाई नै पत्रचार गर्न समस्या छ । बैठक गर्न त्यहाँ पत्र पठाउन दुई दिन चाहिन्छ, बोहरा भन्नुहुन्छ, फोन लाग्दैन् । हिडेरै ओकाली चढ्नुपर्छ । सडक घोल्जरसम्म पुर्याउन सके झण्डै अढाई सय बढि घरधुरीलाई सहजता आउँछ ।
हालको मार्मा गाउँपालिका १ को वडा कार्यालय पारिबगरदेखि घोल्जरसम्म कुल २३ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको मार्मा गाउँपालिकाका सव ईन्जिनियर विक्रम जोशीले जानकारी दिनुभयो । 
गत वर्षबाट सडक निर्माण भइरहेको छ । यो सडकमा हालसम्म झण्डै ५० लाख रुपैयाँ खर्च भएको छ । अहिलेसम्म साढे तिन किलोमिटर क्षेत्रसम्म सडकको ट्याक खुलाइएको छ । वडा नम्बर १ को दर्मधार वस्तीसम्म सडकको ट्याक खुलेसँगै जीप पुगेको छ ।
यो वर्ष १ करोड बजेट विनियोजन गरिएको छ । टेण्डर निकालेर यो क्षेत्रमा चाडो सडक पुर्याउने गाउँपालिका योजना रहेको छ ।

सञ्चारविहिन वस्ती
मार्मा गाउँपालिकाको वडा नम्बर १ को लोया, दह, तोलीमाण्डौं क्षेत्रमा अहिले पनि सञ्चार सेवा पुगेको छैन् । भौगोलिक रुपमा विकट वस्ती पर्ने यो क्षेत्रका नागरिक अहिले पनि मौखिक खबर आदान प्रदानमा निर्भर छन् ।
यो क्षेत्रमा पहिले पनि फोन लाग्दैन थियो, वडा अध्यक्ष विरेन्द्र बोहराले भन्नुभयो, अहिले पनि फोन लाग्दैन । यहाँका स्थानीयलाई खबर पत्रचार गर्न मान्छेबाटै गराउनुपर्छ । वडाबाट मान्छे गाउँ पठाउन पुरै एक दिन लाग्छ । पाँच घण्टा गाउँ पूग्नै लाग्छ फर्किदा चार घण्टा लगाउँदा दिनभर वित्छ । 
मार्मा गाउँपालिकामै नमस्ते फोनको टावर छ तर यस क्षेत्रमा काम गर्दैन् । नौगाडको सिप्टी र अपि हिमालमा रहेको स्काई फोन पनि काम नगर्दा यो क्षेत्र सञ्चार विहिन भएको हो ।
हरेक सुविधाले यहाँको वस्ती विकट छ । स्वास्थ्य सेवा भर्खर स्थानीयले तह घोल्जरमा राखेको छ । विगतमा स्वास्थ्य सेवाबाट समेत यहाँका सथनीय वञ्चित थिए । स्रोतको हिसाबले यस क्षेत्रमा निंगालो प्रख्यात मानिन्छ तर सञ्चार नहुँदा अहिले पनि यो वस्ती निकै विकट भएको छ ।

 

प्रकाशित मिति: सोमबार माघ १३, २०७६/Monday 01-27-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै