२०८१ बैशाख, १७ सोमबार

कलात्मक मूर्तिको संरक्षण हुन सकेन्

मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा रहेको पुरातात्विक, प्राचीन, ऐतिहासिक उकु महलको भग्नावशेषमा रहेका कलात्मक मूर्तिको संरक्षण हुन सकेको छैन् । भग्नावशेषभित्र रहेका मूर्तिहरु जथाभावी फालिएका छन् । 
सुर्खेत जिल्लाको काक्रे बिहारकै जस्तै कलात्मक मूर्तिहरु उकु भग्नावशेषमा देख्न सकिन्छ । तर संरक्षण अभाव, प्रचारप्रसार हुन नसक्नु तथा उत्खनन्को प्रयास हुन नसक्दा ओझेलमा परेको छ । संरक्षणको लागि राज्यले चासो नदिएको स्थनीयको आरोप छ ।
मध्यकालीन कत्युरी राजाहरुको राज्य अन्तरगतपर्ने उक्त उकु महल कहिले भत्कियो भन्ने एकिन विवरण अझै फेला परेको छैन् भने मूर्तिहरुमा लेखिएका लिपीहरु अध्ययन हुन नसकेको जानकारहरु बताउँछन् । 
पुरातत्व विभागले मूर्तिहरुमा लेखिएका लिपीहरु अध्ययन गर्ने भन्दै दुई पटक जिल्ला पुगेपनि त्यसपछि के भयो भन्ने जानकारी नपाएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष गोपालसिह धामीले बताउनुभयो । पछिल्लो समय गाउँपालिका, प्रदेश सरकार लगायतको सहयोगमा घेर पर्खाल हालेर थोरै संरक्षणको थालनी गरिएको छ । तर त्यसभित्र अझै सिलालेखहरु मूर्तिहरु यत्रतत्र नै छोडिएको छ । 
बाहिर देखिएका कलात्मक मूर्तिहरु मात्रै एक ठाउँमा राखिएको छ, उहाँले भन्नुभयो, उत्खनन् हुने होर यताउताको क्षेत्रको मूर्तितथा कलात्कम ढुंगाहरु संकलन गर्ने हो भने अझै धेरै नयाँ कुरा फेला पर्न सक्छ ।
उकु महलको अध्ययन, अन्वेषण, अनुसन्धान र उत्खनन् गर्नसकेमा दार्चुलाकै ऐतिहासिक उपलब्धि हुने ईतिहासका जानकारहरु बताउँछन् । यस भित्र देवीदेवताका मूर्तिहरु, आमलक, शिखर गजुरका अर्धभागहरु, ढुगेंधारा, नाग, बसाह, सिंह चक्रशिलासहित थरिथरिका आकृतिहरु ढुंगामा कुदिएको स्पष्टै देख्न सकिन्छ । विगतमा धेरै सिलालेख तथा ढुंगाहरु चोरी भएको स्थानीय दानीराम तिरुवा बताउनुहुन्छ । 
विगतमा कयौं ढुंगा सिलालेख मूर्तिहरु चोरी भए, उहाँले भन्नुभयो, पछिल्लो समय साविकको गाविस हुँदादेखि संरक्षण गर्न थालिएको छ । विगतमा कसैको ध्यान गएन्, अहिले आएर संरक्षण गर्नुपर्छ भनेपनि उत्खनन् र अध्ययन भएको छैन् ।
महाकाली किनारमा अवस्थित ऐतिहासिक उकु कत्युरी राजाहरुको राजधानी भएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी बताउनुहुन्छ । महल क्षेत्रमा कोटघर, देबस्थल, दरवारका मजबुद किल्लाहरु, ढुगांमा कुदिएका बिभिन्न भगवानका मुर्तिहरु, मध्यकालका शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा भएको विभिन्न दस्तावेजमा भेटिने गरेको अध्यक्ष धामीको भनाई छ ।
उकुको ऐतिहासिक सम्बन्ध सीमावर्ती भारत पिथौरागढ जिल्लाको अस्कोटसँग रहेको छ । अस्कोटको इतिहासअनुसार सन् १२७९ मा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए र अभयपालले वरपरका विभिन्न असीवटा कोटहरुको एकिकरण गरेर अस्कोट नामाङकरण गरेको किम्वदन्ती भेटिन्छ । 
पाल राजाहरुलाई त्यति बेला रजवार भन्ने गरिन्छ । बाह्र वटा बिभिन्न राजाहरुको प्रमुख राजालाइ रजवार भन्ने गरिन्थ्यो । दार्चुलाकै देथलाको पाल राज्य भन्ने बाह्र राजाहरुमा सम्मेलित थियो भन्ने बुझाइ पाइन्छ । अहिले कलाकृति र शिलालेख संरक्षण अभाबमा मेटिदै जाँदा स्पष्ट पढ्न सकिने अवस्थामा छैन् ।
अध्यक्ष धामीका अनुसार उकु महल संरक्षण र अध्ययन अनुसन्धानको लागि पटक पटक पुरातत्व विभागमा प्रस्ताव पेश गरेपनि ठोस प्रगति नभएको बताउनुहुन्छ । एक दुई पटक कर्मचारी आएर गए, तर उपलब्धी देखिएको छैन् । 
अहिले यस स्थानलाई पर्यटकीय क्षेत्रकै रुपमा चिनाउन जौलजीवि मेला महोत्सव गर्ने गरिएको छ । भग्नावेशष स्थलसम्म सडक पहुँच पुर्याइएको छ । बाहिरबाट मूर्ति तथा शिलालेख हेर्न आउनेहरुलाई सहज होस् भन्न सडकमा जोड दिइएको छ । 
नेपाल पुरातत्व विभागका पुरातत्वविद् नबराज अधिकारीले पहिलो पटक २०६३÷०६४ मा दार्चुलाको स्थलगत अध्ययन गर्दा बोहोरीगाउँको देवल मन्दिरको भग्नावशेष, खरकडाको देवल, सिलालेख र उकु दरवारका बिषयमा अध्ययन गरेको पाइन्छ ।
बिस्तृत अध्ययनपछि डिजाइन बनाई सुर्खेतको काक्रेबिहार जस्तै एउटा मन्दिरको स्वरुप दिएर संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने स्थानीय बासी बताउँछन् ।  अहिलेसम्म पनि उकु क्षेत्रको आशिंक मूर्तिकला भएकोबाहेक थप नयाँ कुरा प्रकाशमा आउन सकेको छैन् । 
चालू आर्थिक वर्षमा संघीय सरकारबाट उकु महल क्षेत्रको विकास तथा प्रवद्र्धनको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

 

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै