२०८१ बैशाख, १७ सोमबार

रहनुभएन भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । उहाँका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्नुहुँदै बुवाको निधनको सूचना सार्वजनिक गर्नुभएको छ । उहाँ पछिल्लो तीन सातादेखि उपचारको क्रममा अस्पतालमा भर्ना हुनुभएको थियो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पूर्ब राष्ट्रपति मुखर्जिको भारतको राजधानी नयाँ दिल्लीस्थित एक अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न देहान्त भएको हो । ८४ वर्षीय मुखर्जी आफ्नो राजाजी मार्गस्थित निवासमा लड्न पुग्नुभएको थियो । मस्तिष्कमा रगत जमेपछि ८४ वर्षीय मुखर्जीको मस्तिष्कको शल्यक्रिया गर्नुपरेको थियो । साउन २७ गते उहाँको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । त्यसयता उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएको थियो । तर सोमबार बिहान अचानक उहाँको स्वास्थ्य अवस्था गम्भीर हुन पुगेको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको थियो ।
बङ्गालको एक दुर्गम गाउँमा जन्मिनुभएका प्रणव मुखर्जी पाँच दशकसम्म भारतको राजनीतिमा सक्रिय रहनुभयो । उहाँ भारतमा एक आदरणीय र कुशल नेताको रुपमा व्यक्तित्व निर्माण गर्नुभएको थियो । उहाँ राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि एक शिक्षक र पत्रकारको रुपमा कार्यरत हुनुहुन्थ्यो । सन् १९६९ मा उहाँ पहिलोपटक राज्यसभामा प्रवेश गर्नुभएको थियो । राज्यसभामा उहाँ पाँच पटक निर्वाचित हुनुभयो ।
सन् २००४ मा उहाँ बङ्गालको जङ्गीपुरबाट लोकसभा सिटमा निर्वाचित हुनुभयो । सन् २००९ मा लोकसभाका लागि उहाँ दोस्रो पटक निर्वाचित हुनुभयो ।
सन् १९७२ मा उहाँ पहिलोपटक इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्रीपरिषद्को सदस्यको रुपमा शपथ लिनुभयो । त्यसपछि उहाँ लगातार अर्थ मन्त्री, परराष्ट्र मन्त्री र रक्षा मन्त्रीको जिम्मेवारीमा बस्नुभयो ।
प्रगतिशील गठबन्धनको तर्फबाट सन् २०१२ मा उहाँ राष्ट्रपति पदको उम्मेदवार हुनुभयो । र पाँच वर्षका लागि निर्वाचित हुनुभयो । सन् २०१९ को जनवरी महिनामा मुखर्जी ‘भारत रत्न’ पुरस्कारबाट सम्मानित हुनुभयो ।

गाेरखापत्र

प्रकाशित मिति: मंगलबार भदौ १६, २०७७/Tuesday 09-01-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै