२०८१ जेठ, ३ बिहीबार

नदी र चट्टानहरू

एकतमासले बगेर
भारीका भारी सपनाका नदीहरू
भविष्य खोज्दै मिसिन्छन्
पुगेर नीलो महासागरमा ।

यहीँ सपनाका नदीहरूको बीचमा
अग्लो कद बनाएर बसेका
अग्ला चट्टानहरू
नदीबाट सिर्जित
शीतल हावा स्पर्श गर्दै
हरेक दिन उभिइरहेका छन्
उपेक्षित नजर लगाउँदै
उठेका छालहरूलाई ।

गौरव गर्छ
नदीको बीचमा
आफू उभिन पाउनुमा
नीलो आकाशको छायासँगै
आफ्नो प्रतिबिम्ब
र, आफूलाई
नदीले बगाउन नसक्नुमा ।

तर खोज्दैन कुनै कारणहरू
यी सपनाका नदीहरू
एक तमासले बगिरहनुको ।

यी चट्टानहरू
न देख्छ, न सुन्छ
नदीहरूमा तैरिँदै बग्दै आएका
आमाहरूको दूध र माया
श्रीमतीहरूको आँसु र यौवन
बाहरूको रगत र पसिना
छोराछोरीहरूको भविष्य र तोतेबोली
चेलीहरूको आशीर्वाद
भाइहरूको छुटेको साथ
र, नदीहरूका आफ्नै लाचार सुस्केराहरू ।

तर,
बिर्सेको छ चट्टानले
नदीहरूको यो लामो यात्रामा
ऊ पनि क्रमशस् स्खलित हुँदै गइरहेको
बिर्सेको छ उसले
आफूमाथि उभिएको
अजङ्ग पहाडको खोजमा
आफू अवस्थित भएको
असार, साउनको बाक्लो झरीमा
यी विशाल पहराहरू गलेपछि
झर्ने ठाँउ त
यही नदी नै हो
त्यो बेला चट्टानहरूको
अग्लो कदको अस्तित्व कहाँनिर हुन्छ रु

नदीहरूको स्वभाव हो
ऊ जसको माथि पनि दौडेर
आफ्नो गन्तव्य पहिल्याउन सक्छ
र, उसको चौडा छातीमाथि फेरि
टाढाटाढाबाट बसाइँ सरेर आएका
हजारौँ जलहाँसहरू
सदाझैँ उस्तै गरी
स्वतन्त्र रूपमा पौडिएर रमाउन सक्छन् ।

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै